इटहरी । २० वर्ष पुगेर थन्किएका थोत्रा इन्धन गाडीहरुलाई इटहरी उपमहानगरले विद्युतीय गाडीमा रुपान्तरण गर्ने भएको छ । त्यसको लागि विस्तृत अनुसन्धान गर्न युवा प्राविधिकहरुलाई जिम्मा दिएको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरे संगै इटहरी उपमहानगरले देशमै पहिलो पटक सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेको हो ।
पहिलो चरणमा दुई वटा मोटरसाईकललाई विद्युतीयमा रुपान्तरण र विस्तृत अनुसन्धान गर्ने सहमती भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
संघिय सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनहरु लागत प्रभावीको आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि आफूहरुले काम थालेको मेयर पौडेलले बताए ।
पुरानो गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर र राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिने बताइएको छ ।