स्कुल थिएटरको आठौं संस्करण सम्पन्न

न्युजलय १२ बैशाख २०८०, मङ्गलबार १०:१६ मा प्रकाशित

इटहरी । नाट्य क्षेत्रमा निरन्तर नयाँ पुस्ता उत्पादन गरिरहेको कलालय इटहरीले सञ्चालन गरेको स्कुल थिएटरको आठौं संस्करण सकिएको छ । 

सोमबार इटहरीको तायारिप्ची भवनमा दुई दिने नाट्य प्रदर्शनीसँगै स्कुल थिएटरको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कला संस्कृतिको विकासका लागि सबै पक्ष आपसी सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् । 

उनले साना बालबालिकाहरुको नाट्य प्रस्तुतीबाट आफू प्रभावित भएको बताउँदै राज्यले कला, संस्कृतिको विकासका लागि भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा पाँच वटा नाटक प्रस्तुत गरिएका थिए । स्कुल थिएटरमा सहभागि बालबालिकाहरुले नै नाटक निर्देशन गरेका थिए । सहभागि बालबालिकालाई पाण्डेलगायत साहित्यकार मनु मन्जिल, दिनेश पौडेल, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले प्रसंसापत्र प्रदान गरेका थिए । 

कलालयका अध्यक्ष सोनु जयन्तीले १५ वर्षअघि स्थापित संस्थाले बालबालिकाहरुको विकासलाई प्राथमिकता दिएको बताउँदै स्कुल थिएटरलाई आगामी दिनहरुमा अझ बृहत बनाएर लाने जानकारी दिए ।