धनकुटाको ध्वजे डाँडामा २२ वटा देशको झन्डा

न्युजलय ५ असार २०८०, मङ्गलबार ०१:३७ मा प्रकाशित

  धनकुटा । धनकुटाको पर्यटकीय स्थल ध्वजे डाँडामा नेपालसहित विश्वका २२ वटा देशको राष्ट्रिय झन्डा फहराइएको छ । 

साँगुरीगढी गाउँपालिका–५ मा रहेको ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न झन्डै २० फिट उचाइ भएका झन्डाहरू फहराइएको हो । 

झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताको ३५ हजार छ सय चार रुपैयाँ लागत रहेको बताइएको छ ।  

धनकुटाको साँगुरीगढी गाउँपालिकालाई कोशी प्रदेश सरकारले प्रदेशकै प्रमुख पर्यटकीय पालिका घोषणा गरेको छ । ध्वजे डाँडालाई आकर्षणको केन्द्र बनाई विशेषगरी बाह्य पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न देशको झन्डा फहराइएको साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।