काठमाडौँ । थाइल्याण्डले नेपालसहित ६० बढी देशका पर्यटकहरूलाई प्रवेश अनुमति दिएको छ । १८ महिनापछि कोभिड प्रतिबन्धहरू खुला गर्दै थाइल्याण्डले अनुमति दिएको हो ।
प्रतिबन्ध खुल्ला गरिएपछि आजै दशौँ हजार पर्यटकहरूको आगमन हुने अपेक्षा गरिएको छ । ‘कम जोखिम’ भएका ६३ देशका खोप लगाएका पर्यटकहरूलाई प्रवेश अनुमति दिएकोे थाइल्याण्डले होटल क्वारेन्टिनलाई पनि हटाएको बीबीसीले जनाएको छ ।
यसरी प्रवेश अनुमति पाउने देशमा नेपाल पनि परेको थाइल्याण्ड स्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
थाइल्याण्ड प्रवेश गर्नुअघि कम्तीमा तीनहप्ता उसले अनुमति दिएको देशमा रहेको हुनपुर्नेछ । यस्तै खोप लगाएको प्रमाणपत्र र ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पनि आवश्यक पर्नेछ ।
पर्यटकहरूले सुरुमा एक दिनको होटल बुकिङ गर्नुपर्नेछ । त्यहाँ पनि कोभिड परीक्षण गरिने छ । यदि कोभिड पोजेटिभ देखिएमा भने क्वारेन्टिनमा बस्नुपर्ने छ ।