घोडेटार । भोजपुरको हतुवागढी–१ घोडेटार स्थित ‘छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकप–२०७८’ सञ्चालन हुने भएको छ ।
भिमदल स्मृती प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको उक्त गोल्डकप पौष १ गतेदेखि सगरमाथा माविको खेल मैदानमा सञ्चालन हुन लागेको हो ।
विशिष्ट समाजसेवी स्वर्गीय भिमदल खालिङ राईको स्मृतिमा खुल्ला पुरुष फुटबल प्रतियोगिता अर्थात छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकपको आयोजना गरिएको आयोजकले जनाएको छ ।
हतुवागढी क्षेत्रमा फुटबल साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यका साथ हतुवागढी गोल्डकपको आयोजना गरिएको भिमदल स्मृती प्रतिष्ठान नेपालका संयोजक अनिल कुमार राईले जानकारी दिएका छन् ।
विगतमा महिला फुटबल प्रतियोगिता पनि आयोजना गरिएको तर सहभागिता कम हुने हुनाले यस पटक पुरुष फुटबल प्रतियोगिता मात्रै आयोजना गरिएको संयोजक राईले बताए ।
संयोजक राईले प्रतिष्ठानलाई संस्थागत गरेर हतुवागढी क्षेत्रका अन्य विद्यार्थीहरुको सीप कलालाई उजागर गर्ने तथा आगामी दिनमा महिलालाई पनि प्रोत्साहन गर्दै अघि बढ्ने योजना रहेको जानकारी दिए ।
प्रत्येक दुई(दुई वर्षको अन्तरालमा सञ्चालन हुँदै आएको उक्त गोल्डकप कोरोना संक्रमणका कारण अघिल्लो वर्ष सञ्चालन हुन सकेको थिएन ।
प्रतियोगितामा सहभागीताको लागि मंसिर २७ गते सम्म टिम दर्ता गराइसक्नु पर्ने जनाइएको छ । नकआउट सिस्टममा खेलाइने उक्त प्रतियोगिताको खेल तालिका मंसिर २८ गते दिनको ४ बजे प्रकाशित गरिने छ ।
प्रतियोगितामा सेमि फाइनल खेलबाट ूम्यान अफ द म्याचू तथा विधागत पुरस्कारको व्यवस्था गरिको जनाइएको छ ।
खेलको विजेता टिमलाई एक लाख ६६ हजार ६२२ नगद पुरस्कार सहित ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उपविजेता टिमलाई नगद नगद एक लाख एक हजार ३० ट्रफी , रजत पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।