काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका –१० मा स्थायी घर भएका सुजन आचार्यले सिंगापुर लैजाने भन्दै करोडौँ ठगी गरेको खुलेको छ ।
विभिन्न १२ जिल्लाका कम्तीमा ३० जनालाई आचार्यले करोडौँ ठगी गरेको पीडितहरूको भनाइ छ ।
अहिले सिंगापुर बस्दै आएका आचार्यसँगै ठगीमा भक्तपुर घर भएकी उनकी प्रेमिका भनिएकी विनु शाक्यसमेत संलग्न रहेको पीडितको दाबी छ । उनी पनि हाल सिंगापुरमै लुकेर बसिरहेको पीडितहरू बताउँछन् ।
आचार्यका सानिमाको छोरा भनिएका झापाको बाह्रदशी गाउँपालिका–६ का २० वर्षे सृजन निरौला पनि यसमा संलग्न रहेको पीडितको भनाइ छ ।
सिंगापुरमा आफ्नै कम्पनीमा आकर्षक तलब सुविधासहित रोजगारी दिने आश्वासन दिँदै उनले ठगी गरेको पीडितहरूले बताएका छन् ।
त्यहाँ रहँदा आचार्यले आफूलाई सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भन्दै नक्कली र फोटोसप गरिएका कागजपत्र देखाएको पीडितहरूले बताएका छन् ।
उनले १० करोड रुपैयाँमा गोरखा, एभरेस्ट र हिमालयनजस्ता नेपाली रेस्टुरेन्ट किन्ने डिल भइसकेकोलगायतका झुटा प्रचारबाजी गर्दै नेपालीहरूलाई विश्वास दिलाएर ठगी गरेको पीडित बताउँछन् ।
पैसा बुझाएको एक हप्तामा सिंगापुर उडाइदिने भनेकोमा एक वर्ष भइसक्दा मात्रै कुनै प्रक्रिया अगाडि नबढाएपछि आफूहरूले ठगीमा परेको थाहा पाएको पीडितहरूले बताएका छन् । पीडितमध्ये अधिकांशले विनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा पैसा हालेको बताएका छन् ।
अहिले प्रहरीले तीनजनाकै नाममा पक्राउ पुर्जी जारी गरेको तर आफूहरूले न्याय पाउनेमा आशंका रहेको पीडितहरूको भनाइ छ ।