बालंखामा बुङ्वाखा १७औं वार्षिकोत्सव सम्पन्न, आगामी वर्ष धनकुटामा हुने

अर्जुन राई अपहेलित २८ मङ्सिर २०७८, मङ्गलबार ११:३१ मा प्रकाशित

बालंखा । भोजपुरको आमचोक–४ बालंखा स्थित किरात राई बान्तावा भाषाको मासिक पत्रीका ‘बुङ्वाखा’ को १७औं वार्षिकोत्सव सम्पन्न भएको छ । 

बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानको  मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीको प्रमुख आतिथ्यतामा झ्याम्टा बजाएर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।

बान्तावा कविता प्रतियोगिता, दोङ् दोङ्मा (विनायो) प्रतियोगिता, भे तालेत (तिर–धनु) प्रतियोगिता, आमचोके सर्जकहरुबिच विमर्श, छोङ्खा साकेन्वाको स्थलगत भ्रमण तथा विमर्श लगाएतको विविध कार्यक्रमको साथमा दुई दिन सम्म सञ्चालन रहेको उक्त वार्षिकोत्सव शुक्रबार समापन गरिएको हो ।


बान्तावा भाषाको पत्रीका बुङ्वाखा र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना तथा किरात राई बान्तावा खिम, आमचोकको सह(आयोजनामा सञ्चालन भएको १७ औं वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सवको उद्घाटन सत्रमा प्राज्ञ लक्ष्मी मालीको बाहुलीबाट ११ औं बान्तावा कविता प्रतियोगिता विजेता विष्णुकुमार राईद्वारा लिखित पुस्तक ूसेन्मीू को विमोचन गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कविहरुको कविता वाचन तथा पुरस्कार वितरण साथै पुरस्कृत व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

बुङ्वाखा १७औं वार्षिकोत्सवको अवसरमा आयोजित बान्त्वावा कविता प्रतियोगितामा उकृष्ट १७ कविहरुलाई वाचनको लागि छनोट गरिएतापनी विविध कारणले ३ जना उपस्थित हुन नसक्दा १४ जना बान्तावा कविहरुको सहभागिता रहेको आयोजक जनाएको छ ।

उक्त बान्तावा कविता प्रतियोगितामा पाख्रीबास नपा(१० धनकुटाकि कवि तुलसा स्वदेशीु राई प्रथम, टेम्के–मैयुङ गापा–९ भोजपुरका कवि रविन्द्र बान्तावा दोस्रो र आमचोक गापा–३ भोजपुरकै सन्दिप राई तेस्रो भएका हुन् । 

प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय कविहरुलाई क्रमशः रु. १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार साथमा प्रमाणपत्र प्रदान गरिएको छ । 

त्यस्तै बुङ्वाखा संयोजक पदम वलाहाङको सहजीकरणमा बान्तावा लेखनमा आमचोके श्रष्टाहरुको योगदान विषयक विमर्श समेत गरिएको थियो । 

नेपाल प्रज्ञा प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा।डा। गोपिन्द्र पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको उक्त विमर्श कार्यक्रममा कृति प्रकाशित गरिसकेका आमचोके साहित्यकार उत्तम स्माइल राई, रामचन्द्र राजालिम, विष्णुकुमार राई, दिपक बान्तावा, निराजन राई र विजय वाग्लेको सहभागिता रहेको थियो । 

उक्त विमर्श कार्यक्रममा मातृभाषा साहित्य लेखनको चुनौती, वर्तमान अवस्था र आगामी भविष्यको अवस्था बारे विश्लेषण गरिएको थियो ।

त्यसका साथै प्रा। डा। विष्णुसिंह राईको अध्यक्षता तथा पाविहाङ राईको संयोजनमा भे तालेत (वाणरतिर हान्ने) प्रतियोगिता सञ्चालन गरिएको छ । 

पुरुष तर्फ भे तालेत प्रतियोगितामा बिक्रमजित राई प्रथम, मुकेश राई  दोस्रो र विनोद किरात तेस्रो भएका हुन् । त्यस्तै महिला तर्फ कोपिला राई प्रथम, सम्झना राई दोस्रो र माया राई तेस्रो भएकी हुन् ।

उक्त प्रतियोगिताका विजयीलाई कदर पत्र सहित मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका बिच महिलाहरुको मात्र सहभागिता हुने गरि दोङ दोङमा (बिनायो बजाउने) प्रतियोगिता समेत सम्पन्न गरिएको हो । 

आमचोक गाउँपालिका उपाध्यक्ष सीता राईको अध्यक्षता सम्पन्न दोङ दोङमा प्रतियोगितामा इन्द्रकला राई प्रथम, दिलु राई दोस्रो र देविमाया राई तेस्रो भएकी हुन । 

दोङदोङमा प्रतियोगितामा विजयीलाई प्रा।डा। नोवल किशोर राईको प्रायोजनमा क्रमशः तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

बुङ्वाखा १७औं वार्षिकोत्समा पुरस्कृत श्रष्टाहरुः 

१७ औं वार्षिकोत्सको अवसरमा श्रष्टाहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको छ । 

पुरस्कृत हुने व्यक्तिहरुमा शुभ मुकारुङ, चन्द्र हतुवाली, सुखदेव राई, खान्नुबुङ वालाहाङ र रामचन्द्र राई राजालिमु रहेका छन् । 

संस्कृतिकर्मी, लेखक तथा गीतकार शुभ मुकारुङलाई ५५ हजार २ सय ९१ रुपैयाँ राशीको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०७८’ ले पुरस्कृत गरिएको छ । 

टेम्के–मैयुङ गाउँपालिका–३, अन्नपूर्ण, भोजपुरमा जन्मिएका मुकारुङले ‘किरात राई जाति र मुन्दुमी सामग्री’ लगायत करिब १ दर्जन कृतिहरू लेखन, सङ्कलन, सम्पादन र प्रकाशन गरेका छन् । 

पूर्व मुख्य अञ्चलाधीश स्व. मकरबहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गरेको हो ।

संस्कृतिकर्मी, लेखक चन्द्रकुमार राई हतुवालीुलाई ५० हजार राशीको ‘बुङ्वाखा–युके सायाचोङ्मा पुरस्कार– २०७८’ ले पुरस्कृत गरिएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका २, दितेनीमा जन्मिएका ‘हतुवाली’ले बुङ्वाखाको स्थापनाबारे अवधारणा विकास गरी पत्रिका सञ्चालनमा विशेष भूमिका निर्वाह गरेको हुँदा उक्त पुरस्कार प्रदान गरिएको हो ।

बुङ्वाखा सल्लाहकार मानबहादुर राईको पहल र संयोजकत्वमा बेलायतमा बसोबास गरिरहनुभएका बान्तावा र गैरबान्तावाहरूको सहभागितामा यो पुरस्कारको लागि अक्षयकोष स्थापना गरिएको हो ।

बान्तावा संगीतकर्मी सुखदेव राईलाई ४० हजार राशीको ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार– २०७८’ ले पुरस्कृत गरिएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका, बासिखोरामा जन्मिएका राईले  करिब दुई दर्जन बान्तावा गीतहरू सिर्जना गरिसकेका छन् ।

स्वर्गीय आमा पञ्चकुमारी राईको स्मृतिमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङगीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका हुन् ।

बुङ्वाखाकर्मी खान्नुबुङ राईलाई १० हजार राशीको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार– २०७८’ ले पुरस्कृत गरिएको छ । 

हतुवागढी गाउँपालिका २, भोजपुरमा जन्मी बुङ्वाखाको यलाखोम (काठमाडौँ) संवाददाताको रूपमा कार्यरत राईलाई यो पुरस्कार प्रदान गरिएको हो ।

बुङ्वाखा सल्लाहकार चन्द्रकुमार राई ‘हतुवाली’ र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा पुरस्कारको लागि अक्षयकोष स्थापनाको लागि प्रस्ताव गरेका हुन् 

त्यस्तै रामचन्द्र राई राजालिमुलाई १० हजार राशीको ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार– २०७८’ ले पुरस्कृत गरिएको छ । आमचोक गाउँपालिका ३, थिदिङ्खा भोजपुर निवासी राई बुङ्वाखामा नियमित स्तम्भकारका रूपमा रहेकाले यो पुरस्कार प्रदान गरिएको हो । 

आफ्ना भाइ धनेन्द्र बादिहाङको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ राई र परिवारको पहलमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बुङ्वाखा सम्पादक पदम वालाहाङ राईले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

किरात राई बान्तावा खिम केन्द्रीय सचीव रिता राराहाङ राईले उक्त कार्यक्रमको सञ्चालन गरेकी हुन् ।

किरात राई बान्तावा खिम, आमचोक अध्यक्ष रमणसिंह राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विशिष्ट अतिथी तथा आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. गोपिन्द्र पौडेल, पारिजात स्मृति केन्द्र, काठमाडौंका अध्यक्ष स्नेह सायमी, बान्तावा खिम केन्द्रीय अध्यक्ष ज्ञान किराँती, डा। इश्वर कुमार राई, अतिथिहरुमा बुङ्वाखा(बेलायत अक्षयकोष संयोजक मान बहादुर राई, आमचोक–४ वडाध्यक्ष नेत्रबहादुर खत्री, साहित्यकार कविता राई, पुरस्कृत व्यक्तित्व, स्थानीय समाजसेवी तथा बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।


बुङ्वाखाको आगामी १८औं वार्षिकोत्सव धनकुटाको सहिदभुमिमा हुने सम्पादक पदम वालाहाङ राईले जानकारी दिए ।