हतुवागढीमा हावाहुरीले अधिकांश घरमा क्षती, विधुत सेवा अवरुद्ध

न्युजलय ४ चैत २०८२, बुधबार १२:३५ मा प्रकाशित

घोडेटार । सोमबार साँझ आएको असिनापानी र हावाहुरीले भोजपुरको हतुवागढी गाउँपालिकाका अधिकांश घरहरुमा क्षती पुगेको छ । 

हावाहुरीका कारण सार्वजनिक भवन, विद्यालय, निजी घर, गोठ तथा कृषि बालीमा व्यापक क्षति पुगेको हो ।  हावाहुरीका कारण हतुवागढी–१ स्थित सगरमाथा मावि, वडा नं– २ को शान्ती निकेतन र वडा नं– ८ को जनज्योति माध्यमिक विद्यालयको छाना र भवनमा भौतिक क्षती पुग्दा पठनपाठन समेत प्रभावित भएको छ । 

हावाहुरीको कारण हतुवागढी ३ सिन्द्राङमा अवस्थित एतिहासिक सयवृक्षको रुख भाँचिएर ढलेको छ । सयौं वर्ष पुरानो मानिएको गाउँपालिका धार्मिक एवं पर्यटकीय क्षेत्र उक्त रुख सोमबार साँझ ८ बजे ढलेको स्थानीयको भनाइ छ ।

मंगलबार बसेको हतुवागढी गाउँपालिकाको विपद व्यवस्थापन समितिको आकस्मिक बठकले गाउँपालिकाको ९ वटै वडामा १० थान त्रीपाल वितरण गर्ने निर्णय गरेको छ । 

टेलिफोन सेवा समेत अवरुद्ध भएकाले घटनाको विवरण सङ्कलनमा ढिलाइ भएको र तत्काल पानी पर्ने सम्भावनालाई ध्यानमा राखि पुर्ण क्षती भएका घरहरुको लागि त्रीपाल पठाइएको पालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उहाँको अनुसार भोलि बिहान सम्बन्धित वडाको जनप्रतिनिधि, गाउँपालिकाको कर्मचारी र प्रहरी टोली सहित घटना स्थलमा पुगेर क्षती विवरण सङ्कलन गर्ने र आवश्यक राहत वितरण गर्ने तयारी रहेको छ । 

हावाहुरीका कारण रुखहरु ढलेर विद्युत प्रशारण लाइन अवरुद्ध हुँदा विद्युत सेवा बन्द भएको छ । सोमबार सांझ देखि अवरुद्ध भएको विद्युत सेवा सुचारु गर्न मंगलबार दिउँसोसम्म क्षति पुगेका स्थानहरूको पहिचान गर्ने काम भइरहेको विद्युत प्राविधिक काजिमान राईले जानकारी दिए । 

यो सङ्गै जिल्लाको विभिन्न स्थानमा भौतिक क्षती पुगेको छ ।  हावाहुरीका कारण आमचोक गाउँपालिका वडा नम्बर ६, बोयाङमा रहेको चोमोलुङ्मा एफएमको टावर ढलेको छ । 

साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५, माथिल्लो फेदीस्थित चन्द्रावती आधारभूत विद्यालय भवनको छानो उडाएको छ । यस्तै आमचोक गाउँपालिका–६ मा रहेको मकालु प्राविको रूख ढलेर छानामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

प्रहरी र सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू घटनास्थलमा पुगेर सबै विवरण संकलन गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।