नेप्लिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

न्युजलय २९ चैत २०८२, आइतबार ०७:५५ मा प्रकाशित

सिड्नी । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले रगत दान गरेका छन् । 


सामाजिक कार्यमा सक्रिय रहँदै आएका व्यक्तिहरुले मिलेर रक्तदान कार्यक्रम गरेका हुन् । कार्यक्रममा ६ जनाले प्लाज्मा दान गरेका थिए भने १३ जनाले होल ब्लड (सामान्य रगत) दान गरेका थिए।


नेप्लिज ब्लड डोनर्स एसोसिएसनको आयोजनामा, रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया र फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अष्ट्रेलिया, न्यू साउथ वेल्सको सहकार्यमा सिड्नीस्थित टाउनहलको लाइफ ब्लड सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।


कार्यक्रम नेप्लिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रसन्न दाहालले गरेका थिए भने उद्देश्य र महत्वबारे प्रकाश पारिएको थियो। स्वागत मन्तव्य सदस्य रास्ना पालन्चोकेले व्यक्त गरेकी थिइन्।


अध्यक्ष पोखरेलले अष्ट्रेलियामा हुने रगत अभाव न्यूनीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 


कार्यक्रममा लुक्ला टिभि अष्ट्रेलियाका सम्पादक तथा एसोसिएसनका सल्लाहकार प्रोफेसर डा. राजु मानन्धर, सल्लाहकार भुवन पाण्डे, रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष तथा एशोसिएसनका संरक्षक रञ्जिता भण्डारी, नेपाल चेम्बर अफ कमर्स अष्ट्रेलियाका दूत सन्देश राजभण्डारी तथा डिजि स्कुल अष्ट्रेलियाका प्रमोटर मनकाश पियालगायतले मन्तव्य राखेका थिए ।


उनीहरूले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै मानव जीवन बचाउने अभियानमा सबै संघ–संस्थाबीच सहकार्य, समन्वय र सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए। साथै अन्य सामुदायिक संघसंस्थालाई पनि यस्ता प्रेरणादायी कार्यक्रम सञ्चालन गर्न आह्वान गरे ।


कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, सदस्य तथा अष्ट्रेलियामा रहेका नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।