तारा एयरले इलामको विमानस्थलबाट १२ उडान भर्ने

न्युजलय ३ माघ २०७८, सोमबार ०१:३३ मा प्रकाशित

इलाम । इलामको सुकिलुम्बा विमानस्थलबाट तारा एयरले १२ उडान भर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालिबीच १२ उडानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तारा एयरले अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान-अवतरण गर्नेछ ।  


त्यसका लागि १६ यात्रु सिट क्षमताको जहाज एकतर्फी भाडा रु आठ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११-११ जनाको आउने-जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । 


नगरपालिकाले एकतर्फ भाडा तिरे दुई तर्फकै उड्नका लागि सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले रु आठ हजार ७०० मा टिकट काटिएपछि आउने-जाने दुवै तर्फी टिकट यात्रुले पाउने जानकारी दिए । हाल तीन हप्ताका लागि सम्झौता भएको छ । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको हो । 


उक्त विमानस्थलमा २०७५ जेठ २१ मा परीक्षण उडान गरिएको थियो ।