भद्रपुर। बिर्तामोडका एक व्यापारी सर्वसाधारणको करोडौँ रकम लिएर फरार भएका छन् ।
झापा बिर्तामोड–५ स्थित बोलबम पेट्रोल पम्प नजिकै व्यवसाय गर्दै आएका पंकज अग्रवाल करोडौँ रुपैयाँ लिएर फरार भएका हुन् ।
विगत लामो समयदेखि अग्रवाल भण्डार (चामल मन्डी) सञ्चालन गरेर झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका क्षेत्रमा सामान पठाउँदै कारोबार गर्दै आइरहेका थिए । अग्रवालले केही समयको लागि काम चलाउन भन्दै विभिन्न मानिसबाट लिएको रकम ठगी गरी फरार भएको बताइएको छ ।
हजुरबुबा तिलकचन्द अग्रवाल र बुबा प्रेमचन्द अग्रवालका छोरा वर्ष ४३ का अग्रवालले साबिक अनारमनी–३ बिर्तामोड हालको बिर्तामोड नगरपालिका वडा नम्बर ५को स्थायीवासिन्दा भई झापाबाट ना.प्र.न. ०४–०१–६९–१०९५३ को नागरिकताको आधारमा विभिन्न बैंकमा खाता र पंकज भण्डार सञ्चालन गरेको प्रमाण पुष्टि भएको छ ।
वेस्ट बङ्गाल सिलगुढी नजिकै भारतको रायजञ्जमा भएको घरजग्गा बिक्री गरेर पैसा ल्याउने र दिने भन्दै अधिकांश व्यापारी, चामल मिल तथा अन्य मानिसलाई विभिन्न प्रलोभन देखाई झुक्क्याएको पीडितको गुनासो छ ।
उनी कसैबाट बिना कागजात नगद रुपैयाँ, चेक, त कतिपयको अलैँची र चामल भाउ काट्नु भन्दै पैसा लिएर असार १ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।
२०६२ सालदेखि बिर्तामोडको कनकाई रोड नजिकै देवी माविको पूर्वपट्टि गजुरमुखी टोलस्थित देवीबहादुर लिम्बूको घरमा फ्ल्याट भाडामा लिएर उनका बुबा प्रेमचन्द, आमा विद्यादेवी र श्रीमती रञ्जिता मण्डल अग्रवालसहित उनका दुई छोरी बस्दै आएको घरबेटी लिम्बूको बुहारी सोही घरमा बस्ने रञ्जिता लिम्बूले जानकारी दिए ।
हाल उनको पसल बन्द रहेको साथै बस्दै आएको घरमा परिवारका कोही पनि सदस्य नरहेकोले ठगी गरी फरारको आशङ्कामा पीडितहरूले उनको खोजी गर्न सम्बन्धित निकायमा गुहार मागिरहेका छन् । उनीविरुद्ध झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा ठगी सम्बन्धी उजुरी दिएको पीडितले बताएका छन् ।