इटहरी । इटहरी ५ का ३२ वर्षिय संगीत सुवेदीले उपचार सहयोगका लागि याचना गरेका छन् । कानको श्रवणशक्ति गुम्दै गएपछि टिचिङ अस्पतालमा उपचाररत सुवेदीले उपचारको लागि ठूलो रकम लाग्ने भएको भन्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।
जन्मँदा ठिकठाक रहेको श्रवणशक्ति १४ वर्षको उमेरदेखि कमजोर हुन थालेको थियो । सुन्न नपाउँदा पढाइमा पनि असर पर्न थालेपछि उनले मेसिनको प्रयोग गरेर पढे । तर पछि दुवै कानले सुन्न छाडेको थियो । दुःख सुख इटहरीस्थित विश्वआदर्श कलेजबाट उनले स्नातकसम्मको अध्ययन गरेपनि त्यसभन्दा उता पढ्न सकेनन् ।
उपचारको क्रममा उनी अहिले काठमाडौ बसिरहेका छन् । श्रवणशक्ति फर्काउनका लागि कोक्लियर इम्प्लान्ट गर्नुपर्ने आवश्यकता छ । आन्तरिक इम्प्लान्टको प्रक्रिया पुरा भइसकेको छ । अब बाह्य प्रोसेसरका लागि प्रयोग गरिने उपकरण किन्नुपर्ने छ । एउटै उपकरणलाई २० लाख रुपैया लाग्ने उनी बताउँछन् । उनका बुवा दिउँसो सिटि सफारी चलाउँछन् । बेलुका उद्योगमा नाइट ड्युटी गर्छन् ।
देश विदेशबाट सहयोगी दाताहरुबाट १४ लाख रुपैया सहयोग संकलन भइसकेको उनी बताउँछन् । अझै ६ लाख रकम उपकरणकै लागि अपुग रहेकोले उनले सहयोगीहरुबाट सहयोगको अपेक्षा गरेका छन् ।
'यो मेरो लागि ठूलो रकम हो, घरको आर्थिक अवस्था कमजोर भएकोले सबैले अलिअलि सहयोग गरिदिनुहुन्छ भन्ने आशा छ', उनले भनेका छन् ।
फेरी सुन्न सक्ने भएर अध्ययनलाई निरन्तरता दिने उनको सपना छ । उनलाई सहयोग गर्न चाहनेले निम्न क्युआरमा स्क्यान गरेर सहयोग गर्न सक्नुहुनेछ ।