अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि सँगै फिल्म खेल्दै

न्युजलय २९ जेठ २०८०, सोमबार ०६:२८ मा प्रकाशित

काठमाडौं । भारतीय फिल्मका दुई दिग्गज अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन् । 

मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनले रजनीकान्तको आगामी फिल्म ‘थलाइवर १७०’मा केमियो गर्न सक्छन् ।

रजनीकान्त अहिले आफ्नो फिल्म ‘जेलर’को सुटिङमा व्यस्त छन् । यी फिल्मपछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिनेछन् । यो फिल्म रजनीकान्तको करिअरको १७० औं फिल्म हो र अर्को वर्ष रिलिज हुनेछ । फिल्ममा अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको केमियो पनि देख्न सकिन्छ ।

विवरणअनुसार यसअघि फिल्म निर्माताले पीएस(२ अभिनेता विक्रमलाई फिल्ममा केमियो रोल अफर गरेका थिए । तर अब यो भूमिका बिग बीलाई अफर गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने आउन बाँकी छ । अमिताभ बच्चन र रजनीकान्त पछिल्लो पटक सन् १९९१ को एक्सन ड्रामा ‘हम’मा सँगै देखिएका थिए ।

रिपोर्टका अनुसार ‘थलाइवर १७०’ सत्य घटनामा आधारित फिल्म हुनेछ । फिल्मलाई लाइका प्रोडक्सनले निर्माण गर्दैछ ।