पुर्वको शिक्षा हवमा २२ वर्षदेखि सक्रिय तिम्सिनाले गरे इक्यानको लागि उम्मेदवारी घोषणा

न्युजलय २० पुस २०८२, आइतबार ०५:२७ मा प्रकाशित

इटहरी । कमल तिम्सिना कोशी प्रदेशको शिक्षा क्षेत्रमा परिचित नाम हो । शिक्षाका लागि पुर्वभरीबाट इटहरी आउने हरेक विद्यार्थीहरुले उनलाई कुनै न कुनै रुपमा चिनेका छन् । 

६० सालको आसपास इटहरीमा सिपिएन कम्प्युटर इन्स्टिच्युट, अल्फाबिटा कम्प्युटर इन्स्टिच्युट सञ्चालनमा ल्याए । त्यसमार्फत् विद्यार्थीलाई सुलभ मूल्यमा कम्प्युटर तथा ल्यांगवेज सिक्ने वातावरण तयार गरिदिए ।

उनले हाल इटहरी, धरान र विराटनगरस्थित एक्सपर्ट एजुकेसन एण्ड भीसा सर्भिसेसमार्फत् विद्यार्थीहरुलाई वैदेशिक शिक्षाका लागि सहयोग गरिरहेका छन् ।

शिक्षा क्षेत्रमा तीन दशक लामो उनको सक्रियताबाट हजारौं विद्यार्थीहरुले लाभान्वित हुने मौका पाए । विभिन्न संघसंस्थामा आबद्ध तिम्सिनाले विद्यार्थी अनि शिक्षा क्षेत्रको सुधारका लागि उनले आफ्नो ठाउँबाट पहलसमेत गरिरहेका छन् । जसको कारण अविभावक र शिक्षाप्रेमीहरुको लागिसमेत तिम्सिना शैक्षिक अगुवा बनेका छन् ।

हाल ईक्यान पूर्वाञ्चल शाखाका सल्लाहकार, पूर्वाञ्चल शाखाका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष रहेका तिम्सिना विगत २२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा निरन्तर, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्दै आएका अनुभवी व्यक्तित्व हुन् । शैक्षिक परामर्श दिएर विद्यार्थीहरुलाई सहयोग गर्ने अतिरिक्त उनी नेपाल शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक रूपमा सुदृढ बनाउने अभियानमासमेत सक्रिय छन् । 

विद्यार्थी, अभिभावक र परामर्श संस्थाबीच विश्वास निर्माणमा उनले खेलेको भूमिकालाई शैक्षिक परामर्श क्षेत्रका सरोकारवालाले उच्च मूल्याङ्कन गर्दै आएका छन् । व्यवशायिक मात्र होइन, सामाजिक उद्देश्यले प्रेरित तिम्सिनाले धेरै सामाजिक तथा शैक्षिक कार्यहरुमा सकेको सहयोग पुर्याउँदै आएका छन् ।

यसै सन्दर्भमा कमल तिम्सिनाले नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) को आगामी निर्वाचनका लागि केन्द्रीय सदस्य पदमा साझा उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् ।

आगामी २०८२ साल पौष २८ गते सम्पन्न हुन लागेको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारी घोषणा गरेका तिम्सिनाले आफूले जितेर गएमा शैक्षिक परामर्श क्षेत्रलाई थप विश्वसनीय बनाउने, केन्द्र र शाखाबीचको दूरी घटाउने, नीति निर्माणमा शाखाको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् । 

तिम्सिनाले सदस्य संस्थाहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठीहरु गर्ने, विभिन्न पक्षहरुसँग संवाद र छलफल गर्ने योजना अघि सारेका छन् । अन्तर्राष्ट्रिय शैक्षिक बजारसँग समन्वय गर्ने, विद्यार्थी हित संरक्षण र परामर्श व्यवसायको सामाजिक प्रतिष्ठा उकास्ने अनि सबै सदस्यहरुले गर्व गर्न लायकको संस्था बनाउन पनि पहल गर्ने बताएका छन् ।