बुढासुब्बा गोल्डकप धरानमा हुँदै, आठ टिम भिड्ने

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०६:३३ मा प्रकाशित

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरानमा हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष प्रतियोगिता आयोजना हुन सकेको थिएन।

प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने बताइएको छ । प्रतियोगितामा काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीन टिम सहभागी हुनेछन्। 

भारतका दुई  क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने बताइएको छ । 

विजेताले नगद ट्रफीसँगै नगद रु १० लाख र उपविजेतालाई नगद रु पाँच लाख पुरस्कार राखिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पाउनेछन्। 

विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ।