इटहरी । बीमा गर्ने बेलामा आकर्षक अफर देखाउने तर बीमा दावी भुक्तानी गर्ने बेलामा आलटाल गर्दै निकै थोरै क्षतीपूर्ती दिने नेपाली बीमा कम्पनिहरुको चरित्र नै हो । धेरै बीमीतहरु यस्तो रवैयाबाट आजित बनेका छन् । ती मध्येकै एक हुन्, इटहरीस्थित कुबेर एण्ड सन्स ट्रेड प्रालिका सञ्चालक जेपी घिमिरे ।
उनले बीमा कम्पनिले उचित क्षतीपूर्ती नदिएको गुनासो गरेका छन् । ४६ लाखको मेसिनरी सामान नष्ट हुँदा बीमा कम्पनिले साढे ८ लाख रुपैयामात्र क्षतीपूर्ती दिन खोजेपछि उनले लिन मानेका छैनन् ।
उनले लुम्बिनी इन्स्योरेन्स कम्पनिबाट गोदाममा भएका सामानहरुको बीमा गराएका थिए । उक्त कम्पनी अहिले सगरमाथा इन्स्योरेन्ससँग मर्ज भएर सलिको इन्स्योरेन्स बनेको छ ।
गत वर्षको असार महिनामा आएको बाढीले उनको गोदाममा ४६ लाख रुपैयाभन्दा बढीको सामान पुर्ण रुपमा नष्ट पारेको थियो । तर बीमा कम्पनिसँग क्षतीपूर्तीको लागि दावी गर्दा ८ लाख ४५ हजार रुपैयामात्र दिन खोजेको छ ।
आफूले पैसा लिन नमानेपछि बीमा कम्पनिले थप एक लाख रुपैया दिने भन्दै बार्गेनिङ गरेको बताए । ‘आफ्नो अधिकारको रकम लिन पनि भीख लिएजस्तो हुने भएपछि मैले रकम बुझेको छैन,’ उनले भने ।
२०७९ साल असारको बाढीले क्षती गरेपछि बीमा दावीका लागि उनले तत्काल सबै प्रक्रिया पुरा गरेर बुझाएपनि कम्पनिले २०८० वैशाखमा मात्र दावी फछ्र्यौट पुर्जा तयार पारेको थियो ।
‘एकातिर आफ्नो सामानको क्षती, अर्कोतिर बीमाको प्रिमियमवापतको खर्च अनि त्यही पैसा पनि ढिलो पाउने अवस्था बनेपछि बैंक ब्याजसमेतको क्षतीका कारण बीमा भरपर्दो देखिएन,’ उनले भने ।
उनले ८ लाख ५४ हजार रुपैयाको भ्यालुएसन के को आधारमा गरेको भनेर सुची माग्दा पनि कम्पनिले नदिएको बताए । उनले सिइओसँग कुरा गर्न खोज्दासमेत नदिइएको जिकिर गरे ।
उनले गोदामको प्याराफिटमा राखेको सामानलाई सर्वेयर र बीमा कम्पनिले गोदाम बाहिरको भनेर व्याख्या गरी उक्त सामानको क्षतीपूर्ती दिन नचाहेको बताए । ‘प्याराफिटमा राखेको सामानको बीमा दावी भुक्तानी दिन मिल्दैन भनेर मौखिक रुपमा भन्नुभयो, तर लिखित दिन सक्नुभएको छैन,’ उनले भने ।
उनले आफ्नो क्षती भएको सामानको पूर्ण क्षतीपूर्ती पाउनुपर्ने माग गरेका छन् । बीमा कम्पनिले धेरैलाई राहतको साटो आहत दिएको बताउँदै उनले भने, ‘यो मजस्तै अरु धेरै पीडितहरुको पनि आवाज हो ।’
उनले पत्रकार सम्मेलनकै क्रममा इटहरी शाखा प्रमुख कमलप्रसाद पौडेलसँग फोनमा कुरा गरेका थिए । पौडेलले सर्वेयरको रिपोर्टअनुसार आफूले भुक्तानी दिने बताए । उनले कम्पनिको नियम यस्तै भएको बताए भने सिइओसँग आफूले कुरा गरेको, तर फलोअप गर्न नपाएको उल्लेख गरे । उनले चाँडो सेटल गर्न आफूले चाहेको बताए ।
शाखा प्रमुख पौडेलले चित्त नबुझेको अवस्थामा जाने अन्य ठाउँ भएको बताउँदै भने, ‘त्यता जानु तपाइ र हाम्रो लागि पनि झन्झटिलो हुन्छ, किन जाने र, जे भयो भयो यसमै सेटल गरौं ।’
घिमिरेले उक्त बीमा कम्पनिले यसअघि पनि आफूलाई क्षतीको तुलनामा निकै कम रकम दिएको जानकारी दिए । उनले आफूले ट्रान्जिट इन्स्योरेन्ससमेत गरेको र २३ लाख बढीको सामान ड्यामेज हुँदा ४ लाख १० हजार रुपैया मात्र पाएको बताए ।
उनले आफूले व्यवसायीका विभिन्न संघलाई पनि यो विषयमा जानकारी गराउँदै समन्वयको लागि सहयोग मागेर निवेदन दिएको बताए ।