हतुवागढीको आधुनिक प्रशासनिक भवन उद्घाटन

न्युजलय १० चैत २०८२, मङ्गलबार ०६:३० मा प्रकाशित

भोजपुर। भोजपुरको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। 

सोमबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थितिमा ३४ कोठे आधुनिक भवन उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो।

लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित ७ करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। उनका अनुसार निर्माण कम्पनीसँग भएको सम्झौता बमोजिम तोकिएको दुई वर्षको अवधिमै भवन निर्माण कार्य सम्पन्न गरिएको हो। 

भवन निर्माण कार्य वि.सं. २०८० मंसिर महिनाबाट सुरु गरिएको थियो। नयाँ प्रशासनिक भवन आधुनिक संरचना, पर्याप्त कार्यकक्ष तथा सेवाग्राहीमैत्री पूर्वाधारसहित निर्माण गरिएको छ। भवनमा विभिन्न शाखाका लागि छुट्टाछुट्टै कक्ष, बैठक कक्ष, सेवा कक्ष तथा आवश्यक प्रशासनिक संरचना समेटिएको छ। 

लिफ्टको सुविधा समावेश गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू तथा सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित भवन निर्माण गरिएको बताए।

गाउँपालिकाले दिएको जानकारी अनुसार उक्त भवन केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताइन् । 

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति पूर्व सांसद धनहर्क राई रहेका थिए भने विभिन्न वडाका वडाध्यक्ष,राजनितिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधि,कर्मचारी स्थानीय नागरिकका सहभागिता रहेको थियो ।