इनरुवाबाट न्यूज ट्रयाक साप्ताहिकको प्रकाशन सुरु

न्युजलय २९ चैत २०७९, बुधबार ०८:२७ मा प्रकाशित

इनरुवा । इनरुवाबाट न्यूज ट्रयाक साप्ताहिकको प्रकाशन शुरुवात भएको छ । मंगलबार इनरुवा नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मेयर केदार भण्डारीले पत्रिका सार्वजनिक गरेका हुन् । 

पत्रिका सार्वजनिक गर्दै मेयर भण्डारीले खुम्चेको सानो बजार, स्रोतको अभाव, अनि बढ्दो मोबाइल इन्टरनेटको प्रयोगले प्रिन्ट मिडियालाई समस्या बनाउदै लगेको बताउँदै इनरुवाबाट प्रकाशित मिडियाहरुलाई सहयोग गर्ने आश्वासन दिए । उनले इनरुवामा निष्पक्ष पत्रकारिताको खाँचो औल्याउँदै नगरपालिका संचार क्षेत्रको विकासको लागि काम गर्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष सुमन थापाले पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै नगरले आफ्नो सामर्थ्यमा सबै मिडियाको सरक्षण गर्न तयार रहेको बताए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, प्याब्सन सुनसरीका सदस्य तथा अधिकारकर्मी खगेन्द्र पोखरेल, नेपाली काङ्ग्रेस इनरुवा नगर उपसभापति बिनिता दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य इकवाल अहमद, प्रेस चौतारी नेपाल कोशी प्रदेश सदस्य हिमाल दाहाल, पत्रकार तथा मानव अधिकारकर्मी सुकदेव चौधरी, प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष लक्ष्मी दंगाल, साहित्यकार राधा सुबेदी लगायतले पत्रिकाको निरन्तरताको कामना सहित शुभकामना दिएका थिए ।

पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक महेश प्रसाद गुरागाईले इनरुवाको पत्रकारिताको इतिहास त्यति सुखद नभएता पनि जोखिम मोलेरै पत्रिका प्रकाशनको आवश्यकता महसुस गर्दै पत्रिका प्रकाशनको शुरुवात गरेको बताए । नगरपालिकाले संचार क्षेत्रलाई टिकाइरहन विशेष योजना बनाउनुपर्नेमा समेत जोड दिए ।