रेडपाण्डाको छालासहित चार जना पक्राउ

न्युजलय १५ पुस २०७८, बिहिबार ०८:२८ मा प्रकाशित

काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीरको ४ थान छालासहित ४ जनालाई काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने धादिङ गंगाजमुना गाउँपालिका ७ घर भएका ३९ वर्षीय निर बहादुर घले, काठमाडौं कलंकी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका १३ घर भएका २५ वर्षीय सुरेश गिरी, काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ४ घर भएका ३१ वर्षीय कृष्ण बहादुर तामाङ र काठमाडौं स्वयम्भू बस्ने ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका २ घर भएका २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् । 


बसुन्धारा क्षेत्रमा केही व्यक्तिहरुले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त क्याफेबाट उनीहरूलाई उक्त छाला ३० लाख रुपैयाँमा मोलमोलाई गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 


उनीहरूलाई बरामद छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।