झापागोल्ड कपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबलाई

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०१:०९ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौँ संस्करणको झापा गोल्ड कपको उपाधि जितेको छ ।


बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार दिउँसो भएको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबले झापा एक्स आईलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 


त्रिभुवनको जितमा टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले १–१ गोल गरे । भने झापाका लागि विमल घर्ती मगरले १ गोल फर्काएका थिए  ।


खेलको १८ औं मिनेटमा सुमन अर्यालले दिएको क्रसलाई टेक बहादुरले गोलमा परिणत गर्न सफल भएका थिए । पहिलो गोल गरेको त्रिभुवन आर्मीले  खेलको २० औँ  मिनेटमा  कप्तान जर्जले दोस्रो गोल गर्न सफल भए । गोलरक्षक दीपक कार्की अगाडि बढेको मौकाको सदुपयोग गर्दै जर्जले सहजरूपमा  गोल गरका थिए ।


खेलको २२ औँ मिनेटमा  दबाब महशुश गरेको झापाले आक्रमणमा तीव्रता लियो । खेलको २४ औँ मिनेटमा झापाका विमल घर्ती मगरले १ गोल गर्न सफल भए । तर, विमलको गोलपश्चात दुवै टोलीको निरन्तर प्रयासले गरेपनि अर्को गोल हुन सकेन । दोस्रो हाफमा त्रिभुवनले आक्रमण भन्दा रक्षात्मक शैली अपनाएको थियो ।  


खेल जितेसँगै त्रिभुवनले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता झापाले ६ लाख पाँचहजार रुपैयाँ पुरस्कार राशी पनि प्राप्त गरेका छन् ।