सुनिल शेट्टीकी छोरी अथिया र केएल राहुल आज विवाह बन्धनमा बाँधिदै

न्युजलय ९ माघ २०७९, सोमबार ०९:५६ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल आज विवाह बन्धनमा बाँधिदैछन्। पछिल्लो तीन वर्षदेखि उनीहरू एकअर्कालाई डेट गरिरहेका थिए।

उनीहरूको सम्बन्धको पुष्टि चाहिँ सन् २०२१ मा भएको हो। त्यतिबेला वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेल्न गएका राहुलसँग अथिया पनि इङ्ग्ल्याण्ड गएकी थिइन्।

म्याचका लागि जाने खेलाडीलाई आफ्नो पार्टनरसँग फ्लाइटमा जाने र बस्ने सुविधा पनि दिइने गरिन्छ। तर यसका लागि खेलाडीले आफ्नो पार्टनरको नाम आधिकारिक दस्तावेजमा लेखाउनुपर्नेछ।

यसैबेला राहुलले लजिस्टिक डिपार्टमेन्टको उक्त आधिकारिक दस्तावेजमा पार्टनरको नाममा अथियाको नाम दिएका थिए।

अथिया पनि बलिउड फिल्ममा देखिइसकेकी छिन्। यी दुईको विवाह खण्डालामा हुँदैछ। विवाहमा बलिउडसहित देशका ठूला हस्ती सामेल हुने बताइएको छ।