निश्चल–स्वस्तिमाको ‘साली मन पर्यो’ गीतले बनायो कीर्तिमान

न्युजलय २३ मङ्सिर २०७९, शुक्रबार ०३:४१ मा प्रकाशित

काठमाडौं ।  फिल्म ‘घामड शेरे’मा समावेश ‘साली मन पर्यो’ गीतले नेपाली गीत संगीतमा नयाँ कीर्तिमान कायम गरेको छ । 

यो गीत रहेको युट्युब प्लेटफर्म ओएसआर डिजिटलका अनुसार यो गीतले १० करोड दर्शक पाएको छ । १० करोड पटक हेरिने सम्भवतः यो पहिलो नेपाली गीत हो । 

सार्वजनिक भएको केही समयमै करोड भ्युज पाएको गीतले त्यसयताका दिनमा पनि निरन्तर दर्शक पाइरहेको थियो । फिल्म हिट नभए पनि यो गीत भने पार्टी विवाहमा सदाबहार रुपमा बज्ने गरेको छ । 

हेमराज बिसी निर्देशित यो फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले नृत्य गरेका छन् । तीन वर्ष अघि सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर रहेको छ ।

गीतमा शब्द रचना र संगीत कालीकै रहेको छ । गीतलाई प्रदीप लामा र प्रमोद भण्डारीले कोरियोग्राप गरेका थिए ।