सिआइडी र पत्रकार हुँ भन्दै धम्की दिएको आरोपमा गुरुङ पक्राउ, कोकाहा अभियानमा थिए सक्रिय

न्युजलय ३१ बैशाख २०८०, आइतबार ०६:४० मा प्रकाशित

धरान । सिआइडी हुँ, गोली ठोक्छु भन्दै धाकधम्की दिएको आरोपमा धरान १५ का तीर्थबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई शनिबार साँझ धरान २० स्थित ओशो पार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । गुरुङ मेयर हर्क साम्पाङको कोकाहा खानेपानी श्रमदान अभियानमा निरन्तर खटिइरहेका व्यक्ति पनि हुन् । नियन्त्रणमा लिदा उनी कोकाहा अभियानका मेनेजर दत्तकुमार लिम्बुसँगै थिए ।


गुरुङले आफुहरुलाई ब्राउन सुगर प्रयोगकर्ता भन्दै गुरुङले फँसाउने षड्यन्त्र गरेको स्थानीय मोहित पुन मगरले आरोप लगाएका छन् । पक्राउ परेका गुरुङविरुद्ध करिब २ महिना अघि नै प्रहरीमा ठाडो निवेदन परेको थियो । गुरुङले आफु सिआइडी हो, गोली ठोक्छु भनेरसमेत धम्की दिएका थिए । 


यस्तै उनले आफू धरानका मेयर हर्क साम्पाङको खास पत्रकार हुँ भन्दै समेत मानिसहरुलाई थर्काउने गरेका थिए । पक्राउ परेका गुरुङको साथबाट सुचना विभागबाट जारी भएको प्रेस पास पनि रहेको र त्यसबारेमा पनि अनुसन्धान गरिने डिएसपी नवराज मल्लले बताए । 


गुरुङले आफ्नो फेसबुक प्रोफाइलको बायोमै धरान उपमहानगरपालिकाको सुचना दिने व्यक्ति भनेर लेखेका छन् । यस्तै क्राइम ब्रान्चको सब एड्भाइजर भन्ने ट्याग पनि उनको प्रोफाइलमा लेखिएको देखिन्छ भने सरकारी सिनियर टेक्निसियन भनेरसमेत आफूलाई चिनाएका छन् । 


उनले फेसबुक प्रोफाइलमा कोकाहा अभियानको फोटोहरु शेयर गरेका छन् । उनले एउटा पोस्टमा माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिएका छन् भने बालेनको आलोचना गरेका छन् ।