रहेनन् महेशबाबुका पिता तथा तेलुगु सिनेमाका सुपरस्टार कृष्णा

न्युजलय २९ कार्तिक २०७९, मङ्गलबार ०२:४६ मा प्रकाशित

एजेन्सी । तेलुगु सिनेमाका सुपरस्टार शिव रामा कृष्ण घट्टमानेनीको निधन भएको छ । 

तेलुगु स्टार महेश बाबुका पितासमेत रहेका उनको आज बिहान निधन  भएको हो । तेलुगु सिनेमामा उनलाई सुपरस्टार कृष्णाको नामले चिनिन्छ । करिब ३५० फिल्ममा अभिनय गरेका कृष्णा यसै वर्षको सेप्टेम्बरमा श्रीमती इन्दिराको निधनपछि डिप्रेसनमा थिए ।

हृदयघातका कारण आज बिहान ४ बजे उनको निधन भएको हो । उनी आफ्नो समयका शीर्ष कलाकार मध्येका एक थिए । उनी अभिनेता, निर्माता, निर्देशकका अलावा राजनीतिज्ञ पनि थिए । 

यससँगै उनलाई सन् २००९ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो । उनका ३ छोरी, महेश बाबु र जेठा छोरा रमेश बाबु थिए ।  लामो समयदेखि कलेजोको रोगबाट पीडित रमेश बाबुको पनि यस वर्ष जनवरीमा निधन भएको थियो ।