उदयपुर । उदयपुरको अगल–अलग स्थानबाट लागुऔषध ओसार पसार गरेको आरोपमा प्रहरीले तीन युवालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध ओसारपसार नियन्त्रण सम्बन्धी अभियान अन्तर्गत प्रहरीले उनीहरुको साथबाट दश केजी गाँजा र ४८ एम्पुल लागुऔषध फेला पारेको हो ।
लागुऔषध गाँजा बोकेर जाँदै गरेको बा ६७ प ३११४ नम्बरको मोटरसाइकलबाट कटारीतर्फ जाँदै गरेको अवश्थामा कटारी नगरपालिका १० तिल्केचौरबाट दुई युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ४ का २८ वर्षीय काशीराज राई र २९ वर्षीय तेजबहादुर राई रहेका छन् ।
प्रहरी चौकी सोरुङछबिसेबाट खटेको टोलीले शंका लागेपछि छानविन गर्नेक्रममा सामान वरामद गरिएको जिल्ला प्रहरीक कार्यालयले जनाएको छ ।
दुवैलाई ईलाका प्रहरी कार्यालय कटारी ल्याई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको बताइएको छ । त्यसैगरी त्रियुगा नगरपालिका –३ मिलनचोकबाट लागुऔषधसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
त्रियुगा नगरपालिका–१० का २२ वर्षीय ‘समिर’ भनिने दीबहादुर मगरलाई प्रतिबन्धित लागु औषध सहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँचगर्दा बुप्रिनोर्फिन १६ एम्पुल, डाईजेपाम १६ एम्पुल र फेनार्गन १६ एम्पुल गरी गरी ४८ एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।