बैतडीमा जिप दुर्घटना हुँदा नव विवाहित जोडीको मृत्यु

न्युजलय २० मङ्सिर २०७८, सोमबार ०८:३५ मा प्रकाशित

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । पाटनबाट सकारका लागि हिँडेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् । 


उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 


मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।