सप्तरीमा एक कैदी बन्दीको मृत्यु

न्युजलय २ पुस २०७८, शुक्रबार ०७:१० मा प्रकाशित

सप्तरी । राजविराज कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ । शुक्रबार सप्तरीको सदरमुकाम राजविराज स्थित कारागारमा कैदी बन्दी उद्धवप्रसाद खतिवडाको हृदयाघातबाट मृत्यु भएको हो ।


सुनसरीको दुहबी नगरपालिका ४ का ५८ वर्षीय उद्धव प्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । सरकारी कागजात किर्ते गरेको मुद्दामा खतिवडा बि.स.२०७५ साउन १७ मा राजविराज कारागारका कारागारका निमित्त जेलर सन्दीप कुमार देवले पुष्टि गरे ।


कैदी बन्दी खतिवडालाई अचानक हृदयाघात भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको उनले बताए । मृतक कैदीको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।