मेयर साम्पाङबाट असुरक्षित भएको भन्दै प्रशासनमा ज्ञापनपत्र

न्युजलय २९ बैशाख २०८०, शुक्रबार ०५:०२ मा प्रकाशित

इनरुवा । सुनसरीका पत्रकारहरूले सुरक्षाको माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)बाट असुरक्षित भएको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। 


मेयर सम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे, ब्लाष्ट टाइम्स दैनिकका पत्रकार खिलानाथ विक, कपुरी न्युज अनलाइनलगायतलाई अप्रत्यक्ष तरिकाले धम्की दिएको र असुरक्षित बनाएकाले सुरक्षाको माग गरिएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए। 


उनले अराजक गतिविधि गर्दै अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्की दिने मेयर साम्पाङलाई कारबाही गर्न माग गरेका छन् । 


ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले कानुन विपरित काम गर्ने जोकोहीलाई पनि पक्राउ गरी कारबाही गर्ने र ज्ञापनपत्र गृहमन्त्रीसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाइन्।