मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु

न्युजलय ५ माघ २०८२, आइतबार ०६:५७ मा प्रकाशित

काठमाडौं । मकालु (८,४८५ मिटर) हिमालको सफल आरोहणपछि फर्किने क्रममा एक शेर्पा आरोहीको ज्यान गएको छ भने एक इरानी पर्वतारोही अझै बेपत्ता छन् । 

मकालु एडभेन्चरको टोलीका सदस्य फुर्वा ओङ्गेल शेर्पा करिब ७,५०० मिटर उचाइमा रहेको क्याम्प–४ माथिबाट लडेर ज्यान गुमाएका हुन् । त्यस्तै, ओरालो झर्ने क्रममा इरानी पर्वतारोही अबोल्फजल गोजाली क्याम्प–४ नजिकैबाट बेपत्ता भएका छन्। 

बिहीबार चार आरोही सानु शेर्पा, अबोल्फजल गोजाली, फुर्वा ओङ्गेल शेर्पा र लाक्पा रिन्जी शेर्पा एकै समयमा मकालुको चुचुरोमा पुगेका थिए । बिहान १०ः२७ बजे शिखर पुगेका उनीहरू ओरालो झर्ने क्रममा दुर्घटनामा परेको पेमा शेर्पाले जानकारी दिए ।

घटनापछि एटके एक्सपिडिसनले स्वेच्छिक उद्धार अभियान सुरु गरेको जनाएको छ । मकालु एडभेन्चरले घटनाको पुष्टि गर्दै आधार शिविरमा रहेका अन्य शेर्पा आरोहीहरूलाई पनि खोज तथा उद्धार कार्यमा परिचालन गरिने जनाएको छ ।