काठमाडौँ । प्युठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्कंदै गर्दा लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका–४ उपल्लो भिंग्रीमा दुर्घटनामा परेको हो।
प्युठान प्रहरीका अनुसार ज्यान गुमाउनेका कार चालक लमही नगरपालिका– ५ का ताराबहादुर कुमाल, तुलसीपुर उपमहानगरपालिका–१५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षीय विकाश रहेका छन्।
त्यस्तै, गढवा गाउँपालिका–७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३२ वर्षीया श्रीमती राधा र छोरा १० वर्षीय आदित्य शाह रहेका छन्। एक मृतक बालकको पहिचान खुल्न बाँकी छ। मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएको छ।
प्रहरीका अनुसार कार अनियन्त्रित भई करिब ४५ मिटर तल खसेको थियो। उपल्लो घुम्तीबाट खसेको कार तल्लो घुम्तीको कालोपत्रमा बज्रिएको थियो।
गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो। तीव्र गतिको कार घुम्तीमा अनियन्त्रित हुँदा दुर्घटनामा परेको आशंका गरिएको प्रहरीको भनाइ छ।