फिल्म ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक

न्युजलय २९ फाल्गुण २०७९, सोमबार १२:१५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । 

टिजर रिलिजसँगै निर्माण पक्षले फिल्मको रिलिज पोस्टपोन्ड भएको जानकारी समेत दिएको छ । यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको फिल्म दुई महिना पछाडि धकेलिएको छ । 

प्राविधिक काम नसकिएकाले फिल्मको प्रचार–प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेको जानकारी दिएको छ । अब फिल्म वर्ष २०८० को जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ । 

लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्ममा वर्षा शिवाकोटी, रमेश बानियाँ,सुशील पोखरेल, जयनन्द लामा, विमला गिरी, सुवास शाह, रमेश अधिकारी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल बाल कलाकारको भूमिकामा फिल्ममा प्रस्तुत छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनीत अन्तिम फिल्म समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् ।