धरान । धरान १५ स्थित मिलन चोकमा रहेको एक सुन पसलमा चोरी भएको छ ।
मिलन चोकैमा रहेको सान्थाक्रा ज्वेलरीमा चोरी भएको इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए । पसल भएको घरको गल्लीमा रहेको चेनगेटको चाबी खोलेर सटर कोठाको पछाडी रहेको ढोकाको चाबी फोडेर सुन पसलमा चोरी भएको हो ।
इन्सपेक्टर ओलीका अनुसार सुन पसल रहेको घरको भुइतलामा पसलहरु रहेको र माथिल्लो तलामा मात्रै सुत्ने गरीएको थियो । गल्लीको चेनगेटको चाबी बाहिरबाटै भेट्ने गरी राख्ने गरीएको थियो । चोरले उक्त चाबी खोलेर भित्र पसी सटर कोठाको ढोकाको चाबी फुटाएर सुन पसलमा चोरी गरेको हो ।
पसलमा चोरी भएपछि पसल सञ्चालकले पसलमा रहेको सुनचाँदीको यकिन हिसाब गर्न सकेका छैनन् । तर प्रारम्भिक अनुमान अनुसार ६०–६२ तोला सुन, ४ किलो चाँदी र केही नगद चोरी भएको पसल सञ्चालकको भनाइ छ । इन्सपेक्टर ओलीले घटनाको अनुसन्धान भइरहेको बताए ।