विराटनगर । विराटनगर–३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा रु ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।
उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ जनाको टोली परिचालन गरी आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनीहरूलाई जेठ १० गते राति विराटनगर–१२ कोशी प्रोजेक्टस्थित सडक खण्डमा चोरीको सामान ३५ केजी चाँदी, आठ ग्राम सुन, दुई थान मोबाइलसहित भारतको जोगबनीमा बिक्री गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।