सोलुखुम्बु । दुधकोशी जलविद्युत् आयोजना परीक्षणका क्रममा फलामे पाइप पड्किँदा दुई जना इन्जिनियरको ज्यान गएको छ।
सोलुखुम्बुको पञ्चनस्थित ८६ मेगावाटको सोलुखोला–दूधकोशी जलविद्युत् आयोजना परीक्षणका क्रममा पाइप पड्किँदा दुई जनाको ज्यान गएको हो।
आइतबार दिउँसो फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पड्किएर उक्त दुर्घटना भएको हो। यो दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।
थुलुङ दूधकोशी गाउँपालिका–३ मा भएको उक्त घटनामा ज्यान गुमाउनेहरुमा हाइड्रोपावरका इन्जिनियर अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
घटनामाा सिराहाकको औरही गाउँपालिका–२ का २९ वर्षीय महमद जाबेतर राइन घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उनलाई हेलिकप्टरबाट काठमाडौँ लगेर ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाएका रेग्मी र थापा विस्फोटपछि बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाडौं लैजान नसकेपछि ओखलढुङ्गाको मिसन अस्पतालमा पठाइएको थियो।
अस्पताल लैजाने क्रममा उनीहरुको बाटैमा ज्यान गएको बताइएको छ ।
उनीहरुको शव अहिले मिसन अस्पताल ओखलढुंगामा राखिएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।