विराटनगरको तुलसी सहकारीका तीन सञ्चालक पुर्पक्षका लागि कारागार चलान

न्युजलय २५ चैत २०७९, शनिवार ११:३३ मा प्रकाशित

 विराटनगर । मोरङको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालक पुर्पक्षका लागि कारागार चलान भएका छन्।

ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालसले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पक्राउ परेका तीनजना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित आठ सञ्चालक विरुद्ध ठगी मुद्दा दायर गरेको थियो।

फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा तथा पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको थियो। पक्राउ परेकाको हकमा अदालतले आदेश गरेको हो।

सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

जसमध्ये मोरङ प्रहरीमा १ हजार ३०७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८  लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ।  अध्यक्ष शर्माले १६ करोड  ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको स्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ।