सुनसरी । उत्तर–पूर्व भारतमा आतंक मच्चाइरहेको नैरोबी फ्लाइ नामक किराले नेपालमा पनि मानिसहरुलाई सताउन थालेको छ ।
यो किराले टोकेमा डढुवाजस्तो घाउ आउने गर्छ । पोल्ने र दुख्ने यो घाउ लामो समयसम्म छालामा रहने र छालालाई नै बिगार्ने विशेषज्ञहरु बताउँछन् । बेलुका बत्तीमा झुम्मिने यो किराको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा गलाउन र सावधानी अपनाउन सुझाव दिएका छन् ।
अफ्रिकामा पाइने यो किराले भारतको पश्चिम बंगाल, सिक्किम लगायतका राज्यमा आतंक नै सृजना गरेको छ । नेपालको पनि तराई हुँदै पहाडसम्म यो किरा पुगिसकेको छ ।
के हो नैरोबी फ्लाई ?
नैरोबी फ्लाईले टोक्दैन् । तर कसैको छालामा बस्दा यसलाई चलाएमा यो किराले एक शक्तिशाली रासायनिक पदार्थ छोड्छन् जसको कारणले जल्ने, पोल्ने अथवा घाउ हुने गर्दछ । यसै कारण यसलाई ड्रेगन बग वा एसिड बग पनि भनिन्छ । यदि यो किरा मान्छेको शरीरमा बसेको खण्डमा बिस्तारै उडाउनुपर्छ वा टक्टकाउनू पर्छ ।
यो किरा झरीको बेला देखा पर्छ अनि रातको समयमा खिर्की दैलो असल प्रकारले बन्द नगर्दा पनि यो घरभित्र पसेर हाम्रो छालासित सम्पर्कमा आउने गर्दछ ।
किराले टोकेमा पोल्ने, घाउ हुने जस्ता समस्या देखिन्छन् । त्यसो भएको खण्डमा साबुन पानीले सफा गर्ने नजिकैको स्वास्थ्य केन्द्रमा गई उपचार गराउन सकिनेछ । चिकित्सकहरुले घाउमा लगाउने मल्हम दिने गरेका छन् ।
नैरोबी फ्लाईबाट बच्ने तरिकाहरु :–
– अँध्यारो हुनुअघि ढोका र झ्याल बन्द गर्नुहोस् ।
– मच्छड़दानी प्रयोग गरेर सुत्नुहोस् ।
– यदि तपाईंले आफ्नो छालामा बसेको देख्नुभयो भने, हातले छुनुको सट्टा झट्कारेर उडाउनुहोस् । ता कि किराले टोक्न नभ्याओस् ।
– किरा छुनुभयो भने आँखा वा शरीरका अन्य अंग छुनुअघि हात साबुन पानीले राम्रोसँग धुनुहोस् ।
– सुत्नुअघि ओछ्यान सफा गर्नुहोस् र झुल टाँग्नुहोस् ।
– घर वरपर झारपात र फोहोर सफा गर्नुहोस् ।