अनुसुची नपाएपछि सशंकीत एमालेले रोक्यो नगरसभा, मेयरले लेखे, 'बजेट नपाएपछि बहुमतको आडमा रोके'

न्युजलय २ साउन २०८२, बिहिबार १२:३७ मा प्रकाशित

इटहरी । असारको अन्तीम दिन बजेट पारित गर्न इटहरी सरकार असफल भएको छ । बुधबार बसेको नगर सभा बैठक अर्को सुचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको हो । 


मेयर हेमकर्ण पौडेलले नगरसभा स्थगित भएको घोषणा गर्नुअघि उपमेयर संगीताकुमारी चौधरीले बोलेकी थिइन् । विनियोजन विधेयक र अर्थ विधेयक ल्याउने बेलामा उनले अनुसुची प्राप्त भएको भन्दै विधेयक ल्याउन असमर्थ भएको घोषणा गरेकी थिइन् ।


चौधरीकाअनुसार नगरको शिक्षा र वडाहरु १, ६, ८, १३ र २० ले गर्ने खर्चको अनुसुची योजना तर्जुमा समितिमा प्राप्त भएको छैन । त्यसैले उनले गाउँसभा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को परिच्छेद ४ को दफा ३१ (ग) बमोजिम विनियोजन विधेयक र अर्थ विधेयक २०८२ प्रस्तुत नगर्ने जानकारी गराएकी हुन् । 


त्यसपछि मेयर पौडेलले अर्को सुचना नभएसम्मका लागि नगरभा स्थगित गरेका थिए । सँगै उनले सामाजिक सञ्जालमा ‘नेकपा एमाले इटहरीका नेताहरुले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित, इटहरीवासी बजेटबाट विमुख’ भनेर स्टाटस लेखेका थिए । जुन उनले केही समयमै हटाएका थिए ।


एमाले जनप्रतिनिधिकाअनुसार मेयर पौडेलले यस पटक पनि अन्तीम समयमा आएर एमाले जनप्रतिनिधिलाई दबाबमा पारेर बजेट पारित गर्न खोजेको नगरसभा सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीले बताए । ‘शिक्षामा १४ अनि नगरको साढे ८ करोड र पाँच वटा वडाको गरेर साढे २२ करोड बढी बजेट के के मा खर्च गर्ने भन्ने अनुसुची नै दिइएन,’ उनले भने, ‘त्यो रकम मनोमानी खर्च गर्ने योजना रहेको हामीले शंका गर्यौं ।’


यसैगरी अर्थ विधेयकको पनि अनुसुची प्राप्त नभएको बताइएको छ । यो अनुसुचीमा करका दरहरु उल्लेख गरिन्छन् । यसपटक पनि करको दर बढाएर ल्याउने नियत देखिएको अर्का एक सदस्यले जानकारी दिए । ‘त्यसैले यसपटक जेसुकै होस्, हामी अघिल्लो पटकको जस्तो भुल गर्दैनौं, बजेटमा स्पष्ट भएर मात्र अघि बढ्छौं,’ उनले भने ।


अघिल्लो आर्थिक वर्षमा पनि स्रोत सुनिश्चित नै नगरी नगरबस लगायतका सवारी साधन किनिएको थियो भने प्राथमिकतामा नपरेका योजनाहरु ठेक्कामा लगिएको थियो । मनोमानी खर्चकै कारण साढे तीन अर्ब बढीको महत्वकांक्षी बजेट फेल भएको थियो । पालिकाको अघिल्लो आर्थिक वर्ष भुक्तान गर्दैमा बितेको थियो । नयाँ योजना सुरु गर्न पाएको थिएन । 


यसपटक भने सम्हालिएर बजेट आएपछि पालिका सुधारको बाटोमा जान थालेको अनुमान गरिएको थियो । तर एकले अर्कोलाई आरोप प्रत्यारोप गर्दै नगरसभा स्थगित भएपछि नगरवासीले निराशा व्यक्त गरेका छन् ।


एमाले जनप्रतिनिधिहरुले विधेयक पेश नगरेको सम्बन्धमा एमाले इटहरी अध्यक्ष रुपेश बस्नेतले यस पटक एमालेबाट बजेट ल्याउने विषयमा कमजोरी हुन नदिने बताए । उनले भने, ‘तीन वर्षसम्म मेयर पौडेलले छलछाम गरेर विधि र पद्धतीलाई मिचेरै बजेट ल्याए । हाम्रो पनि कमजोरी केही रह्यो, यो पटकदेखि त्यस्तो हुन दिँदैनौं ।’