इटहरी । अविभावकहरुले आफ्ना विद्यार्थीलाई होस्टेलमा राखेर पढाउनुको कारण, त्यहाँ राम्रो हेरचाह र शिक्षा दिइन्छ भन्ने विश्वासले हो । तर विद्यालयले नाफामुखी ढंगले सञ्चालनमा ल्याएका अस्तव्यस्त होस्टल र गुणस्तरहीन खानपानले विद्यार्थीलाई सास्ती थपिरहेको मात्र छैन, विद्यालयको लापरवाही र वेवास्ताले विद्यार्थीको ज्यानैसम्म पनि गएको छ ।
इटहरी ४ मा रहेको सेकेण्डरी स्कुलको होस्टेलमा बसेर पढ्ने एक बालकको होस्टेलमै ज्यान गएपछि विद्यालयको नाफामुखी र गैह्रजिम्मेवारीपन सतहमा आएको छ ।
इटहरीकै पुरानो मध्येको उक्त स्कुलको होस्टलमा बस्ने बेलबारीका एक बालकको सोमबार ज्यान गयो । १४ वर्षीय जेनिश श्रेष्ठको मृत्यु भएपछि त्यो त अपत्यारिलो घटना बन्यो नै, सँगै होस्टेलको व्यवस्थापन देख्नेहरुसमेत छक्क परेका थिए ।
‘कुनै फोहोर राख्ने स्टोर रूमभन्दा गततिलो देखिँदैन,’ युवा नेता स्थानीय सुनिल कार्की भन्छन्, ‘महँगो शुल्क लिएर गरीएको व्यवस्थापन पनि यस्तो भद्रगोल हुन्छ भन्ने अनुमान नै गरिएको थिएन ।’ उनले शिक्षा दिने भन्दा पनि अविभावकलाई लुटने उद्देश्यले विद्यालय सञ्चालनमा ल्याएको पाइएको टिप्पणी गरेका छन् ।
उक्त विद्यालयले यसअघि विद्यालयमा पुग्ने अभिभावकलगायत कसैलाई पनि होस्टलका कोठाहरु हेर्न दिँदैनथ्यो । ‘विद्यालयको नियम भन्दै कोठा, खानपानको अवस्था, भान्सा हेर्न दिइँदैनथ्यो,’ एक अविभावकले भनिन् ।
खाट, ओढ्ने ओच्छ्याउने र कोठाको अवस्था कुनै स्टोर रुम जस्तै देखिन्छ । दुई वटा पंखा भएको कोठामा एउटा बिग्रेको र एउटा निकै विस्तारै चल्ने हुँदा गर्मीले रातभर सुत्न नसक्ने विद्यार्थीहरु बताउँछन् ।
मृत्यु रहस्यमय
जेनिशको मृत्युको कारण खुलेको छैन । पोस्टमार्टम र भिसेरा परिक्षणको क्रममा छ ।
राती खाना खाएर साथीहरुसँगै सुतेका जेनिश १२ बजे पिसाब फेर्न उठेका थिए । त्यसपछि आएर सुतेका उनको मृत्यु सुतेकै ठाउँमा भएको सिसिटिभी फुटेजमा देखिएको थियो । त्यसबिचमा उनमा कुनै हलचल वा प्रतिक्रिया देखिएन । जसको कारण उनीसँगै सुतेका साथीहरुले समेत थाहा पाएनन् ।
बिहान साथीहरुले बोलाउँदा कुनै प्रतिक्रिया नदिएपछि क्याप्टेन, प्रिन्सिपललगायतलाई बोलाइएको थियो । प्राथमिक उपचारबाट होसमा ल्याउने कोसिस गरेपनि जेनिश उठेनन् ।
मुखबाट फिँज आएको र शरिर निलो भएको देख्दा र होस्टलको व्यवस्थापन हेर्दा सर्पले टोकेको शंकासमेत गरिएको छ ।
यसका साथै कतिपयले उनको परिवारका सदस्य र उनकै आमामाथि पनि शंंका गरेका छन् । श्रेष्ठ एक मात्र सन्तान थिए । उनका बुवा प्रहरी थिए, जसको मृत्युपछि आमाले उनलाई होस्टेलमा राखेर पढाइरहेकी थिइन् । उनकी आमाले राम्रो हेरचाह नगर्ने र आफूभन्दा पर राख्न चाहने गरेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । शुक्रबार मात्र श्रेष्ठ घर गएर फर्किएका थिए ।
तर घटनाको प्रकृति, शवको अवस्था, सिसिटिभी फुटेज, उनका साथी तथा होस्टेल प्रशासनको भनाईहरुबाट घटना कसैले गराएको वा हत्या भएको जस्तो नदेखिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । ‘कसैले मारेको भन्ने देखिएको छैन,’ उनले भने, ‘पोस्टमार्टम र भिसेराको रिपोर्ट आएपछि बाँकी कुरा खुल्नेछ ।’