विराटनगर । विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
गत साल मंसिर महिनादेखि २०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा पञ्जिकरण गरिएको हो । यो नयाँ माछाको नाम ‘एम्ब्लिसेप्स वाइखोमी’ हो ।
विराटनगरकै अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरु जीनक्वान याङ र चेनहोङ लीको समूहले उक्त माछा विराटनगरको तल्लो भाग जहदापुल र बुधनगर गरी दुई वटा अध्ययन विन्दुहरुमा रेकर्ड गरेका थिए ।
उनीहरुले पत्ता लगाएको माछा नेपालको लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित हुने इन्टरनेशनल जर्नल अफ जुलोजीमा २०२३ को भोल्युममा यही अप्रिल महिनामा प्रकाशित भएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार एमब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एशियातिर मात्रै त्यहीपनि विरलै भेटिन्छ ।