खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालक तामाङको मृत्यु

न्युजलय १२ साउन २०८०, शुक्रबार १२:३४ मा प्रकाशित

 खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालक सोही पालिका–३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।

खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर इन्द्रेणी पोखरीस्थित नेर्लामा बिहिबार दिउँसो दुर्घटना भएको थियो । सडकबाट करीब ५० मिटर तल खसेको ट्याक्टरका चालक तामाङ गम्भीर घाइते भएका थिए ।

उपचारका लागि धरान लानेक्रममा तामाङको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । तामाङको शव पोष्टमार्टमका लागि इन्द्रेणी पोखरी ल्याइएको प्रहरीको भनाइ छ ।

खोटाङ बजारमा पानी बोक्ने ट्यांकी छाडेर फर्किने क्रममा दुर्घटना भएको हो । ट्याक्टरमा चालक तामाङ मात्रै सवार रहेको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।