उर्लाबारीका वडाध्यक्ष आन्दोलनकारीबाट कुटिए, काँग्रेसको आपत्ति

न्युजलय १४ चैत २०७९, मङ्गलबार ०७:१५ मा प्रकाशित

मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेल कुटिएको घटनाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । काँग्रेस जिल्ला सदस्यसमेत रहेका पौडेललाई आज पहिचान पक्षधर आन्दोलनकारीको एउटा समूहले कुटपिट गरेको थियो । मोरङ कांग्रेसले विज्ञप्ति निकालेर घटनाको निन्दा र भर्त्सना गरेको हो । 

शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने संवैधानिक अधिकार हुँदाहुँदै जनप्रतिनिधिमाथि कार्यकक्षमा कुटपिट हुनु अत्यन्तै निन्दनीय कार्य भएको कांग्रेसको उर्लाबारी नगर कार्यसमितिका कार्यवाहक सभापति राजन रायमाझीले बताए । त्यस्तै, उनले कुटपिटमा संलग्नलाई तुरुन्त कारबाही गर्न माग गरेका छन् । 

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारीले आज वडाध्यक्ष पौडेललाई कुटपिट गरेका थिए । कार्यालय खोलेको भन्दै आन्दोलनकारीबाट कुटिएका वडाध्यक्ष पौडेल सामान्य घाइते भएका छन् ।