फिल्म ‘प्रसाद २’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय ७ चैत २०७९, मङ्गलबार ०६:५७ मा प्रकाशित

काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘प्रसाद २’को पहिलो गीत सार्वजनिक भएको छ। 

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गरिएको छ। यसअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। 

दर्शकले ट्रेलर रुचाएसँगै फिल्मले बक्स अफिसमा सुखद कमाइ गर्ने फिल्मकर्मीको अपेक्षा छ। 

राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको गीतमा विपिन कार्की, केकी अधिकारी, आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य देख्न सकिन्छ। गीतमा राजनराजकै शब्द तथा संगीत छ।

राजनीतिक र सामाजिक कथाको फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूको बैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ। 

विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।

सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत छन्। राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो। यो फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शन हुनेछ।