दाङ । पश्चिम रुकुम मुसिकोट नगरपालिका २ रातामाटामा सोमबार साँझ भएको बस दुर्घटनामा ४० जना घाइते भएका छन् । घइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । चार जनालाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले बताएको छ ।
गम्भिर घाइते हुनेमा मुसिकोट नगरपालिका १ का वडा अध्यक्ष बिरबल केसी, सोही वडाका सुशिल थापा, मानबहादुर ओली, सुरेन्द्र भण्डारी, नवराज खड्का, बिमला खत्री र प्रेम केसी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही वडाका टेकबहादुर बस्नेत, चोपबहादुर बस्नेत र बुधुराम खड्का पनि गम्भिर घाइते भएका छन् ।
गम्भिर घाइतेमध्ये वडा अध्यक्ष केसी, सुशिल थापा, नवराज खड्कालाई थप उपचारका लागि जिल्ला अस्पतालले नेपालगञ्ज रिफर गरेको छ । मुसिकोट नगरपालिका १ कै बुधुराम खड्कालाई थप उपचारका लागि चौरजहारी अस्पताल रिफर गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य सबै घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ५ घर भएका चालक दोज बहादुर भण्डारी भने फरार रहेका छन् ।
जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट १ सय मिटर तल खसेको थियो ।