संखुवासभाको मकालुमा पहिरो, कोशी राजमार्ग ठप्प

न्युजलय ६ असार २०८०, बुधबार ११:०५ मा प्रकाशित

विराटनगर । सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।

लगातारको कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो।

उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।

मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयले जनाएको छ ।

पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन।सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन्।