पाँचथरमा ट्र्याक्टरबाट खसेर विद्यालय गइरहेका दिदीबहिनीको मृत्यु

न्युजलय ३ जेठ २०८०, बुधबार ०१:४५ मा प्रकाशित

 पाँचथर । पाँचथरमा ट्र्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थीको ज्यान गएको छ । 

बुधवार(आज) मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवा भन्ने ठाउँमा मे १ त २९६१ नम्बरको ट्र्याक्टरबाट खसेर दिदीबहिनीको ज्यान गएको हो ।

ट्र्याक्टरबाट खसेर स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ८ र ४ मा अध्ययनरत थिए ।

चालक सिटको छेउमा रहेका उनीहरू ट्र्याक्टरबाट खसेपछि ट्र्याक्टरले किचेर ज्यान गएको प्रहरीले जनाएको छ । दुई विद्यार्थीको ज्यान गएपछि चालकले ट्र्याक्टर छाडेर अन्य दुई जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।