एभरेष्ट बैंक इटहरीबाट हरायो ग्राहकको करोड बढी रकम, अप्रेशन इन्चार्ज पक्राउ

न्युजलय २९ चैत २०७९, बुधबार ०८:०४ मा प्रकाशित

इटहरी । एभरेष्ट बैंकको इटहरी शाखाले सर्वसाधारणले बचत गरेको एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ । एभरेष्ट बैंकको इटहरी शाखाका एक कर्मचारीले बैंकको विभिन्न शाखामा खाता खोलेका १९ जना बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ।

बैंक खातामा जम्मा गरेको रकम झिक्न जाँदा बैंक कर्मचारीले खातामा पैसा छैन भन्ने जानकारी दिएपछि बचत कर्ता ठगिएको खुलासा भएको हो। एभरेष्ट बैंकको इटहरी शाखामा कार्यरत अप्रेशन इन्चार्ज विराटनगर महानगरपालिका–८ घर भएका निरज प्रधानले १९ जना बचतकर्ताहरूको रकम अन्य ग्राहकको खातामा ४५ पटक ट्रासफर गरी ठगी गरेको पाइएको छ।

आफ्नो खातामा जम्मा गरेको रकम नभेटिएपश्चात खोजी गर्दै जाँदा प्रधानले रकम ठगी गरेको पाइएको पीडित स्याङजाकी रेखा गुरुङले बताइन्। सुरुमा एक जना ग्राहकको रकम हराएको घटना सार्वजनिक भएको थियो। पछि अनुसन्धान गर्दै जाँदा बैंकबाट ठगिने ग्राहकको संख्या १९ पुगेको छ। ग्राहकहरूको बयानको आधारमा एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको खुलेको हो।

अप्रेशन इन्चार्ज प्रधानले आफूले चिनेजानेकाहरूको फोटो र नागरिकताको फोटोकपी मागेर एभरेष्ट बैंकमा ३२ जनाको खाता खोलेर १९ ग्राहकको रकम ट्रान्सफर गरेको बताइएको छ। विराटनगरकी विणा कोइरालाले इन्चार्ज प्रधानले सेयरको फर्म भर्दिन्छु भन्दै आफ्नो नाममा विना जानकारी एभरेष्ट बैंकमा खाता खोली रकम ट्रान्सफर गरेको बताइन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले ग्राहकहरूले बचत गरेको रकम ठगी गरेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरी उच्च अदालत विराटनगरबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको जानकारी दिए।

उजुरीकर्ता एभरेष्ट बैंक र ठगीमा परेका बचतकर्ताको बयान लिएर विस्तृत अनुसन्धानको काम भइरहेको डीएसपी राईले बताएका छन्। उनले रकम जम्म्मा भएको ३२ खातावालालाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए।

एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले बैंक कर्मचारी प्रधानको फटाइका कारण आफ्ना ग्राहकहरूको रकम ठगी भएकोमा चिन्ता व्यक्त गरे। उनले ग्राहकको रकम हराएको घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रधानविरुद्ध बैंकले नै उजुरी दिएको बताए।

अधिकृत खालिङले इटहरी शाखाका बचतकर्ताहरूको हराएको सम्पूर्ण रकम बैंकले उनीहरूकै खातामा जम्मा गरिदिएको पनि बताए। बचतकर्ताबाट ठगी गरेर अपचलन गरेको रकम भने प्रधानबाट असुल भएको छैन।