काठमाडौं । नेपालले समुद्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न अध्ययन सकिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदातामार्फत यसबारे अध्ययन गराएर प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदन कार्यान्वयनमा आए नेपालले भारत हुँदै समुद्रसम्म आफ्नै नियन्त्रणमा रहने ‘अप्टिकल फाइबर’ जोड्ने छ । नेपालले हाल भारत र चीनका विभिन्न चार वटा नाकाबाट इन्टरनेट भित्र्याइरहेको छ ।
विभिन्न देश र महादेश जोडिने गरी समुद्रभित्र इन्टरनेटका तारहरु बिछ्याइएका हुन्छन् । सो सञ्जालमा सिधै जोडिन नेपालले तयारी अघि बढाएको लामो समय भइसकेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार सुमन्द्रसम्म आफ्नै फाइबरमार्फत जोडिने परियोजनाबारे तीन दिनअघि मात्रै अन्तिम प्रतिवेदन प्राप्त भएको छ । देशभित्रको इन्टरनेटलाई आफ्नै सूचनाको अन्तर्राष्ट्रिय महामार्गसँग जोड्ने योजना अनुसार प्राधिकरणले यस्तो अध्ययन गरेको थियो ।
अध्यक्ष खनालका अनुसार अब नेपालले भारतबाट समुद्रसम्म नेपालको आफ्नै नियन्त्रणमा रहने फाइबर जोडने गरी भारतसँग द्विपक्षीय वार्ता अघि बढाउनेछ ।
निकै महत्वकांक्षी यो योजनाको लागत कति सम्भाव्य हो भन्ने प्राधिकरणले खुलाएको छैन । अध्यक्ष खनालका अनुसार नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भारतको बाटो हुँदै आफैं फाइबर बिछ्याउन सक्ने अधिकार राख्छ । तर, त्यसरी काम गर्न व्यवहारिक नहुने भएकाले ठूला भारतीय अप्टिकल फाइबरका ‘डार्क कोर’हरु भाडामा लिएर स्वतन्त्र ढंगले उपयोग गर्ने गरी सम्झौता गर्ने योजना बनाइएको हो ।
अहिले भारत र चीनका विभिन्न सेवा प्रदायकको अप्टिकलमार्फत नेपाल इन्टरनेट सञ्जालमा जोडिएको छ । प्राधिकरणले अब त्यसरी आफ्नै बाटोबाट समुद्रसम्म इन्टरनेट पहुँच विस्तार गरेपछि त्यसको सञ्चालन, व्यवस्थापनसहितका विषयलाई समेट्ने गरी कानुनी प्रवन्ध गर्नुपर्ने छ ।
केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई यो परियोजना जतिसक्दो छिटो अघि बढाउन निर्देशन दिएको थियो ।
अहिले भारतसँगको भैरहवा, वीरगञ्ज र विराटनगर नाका तथा चीनसँगको रसुवागढी नाकाबाट इन्टरनेट भित्रिरहेको छ । समय–समयमा भारत र चीनतर्फ प्राकृतिक विपत्ति पर्दा नेपालमा इन्टरनेट सेवा प्रभावित हुने गर्छ ।
योजना अनुसार समुद्रसम्म नै नेपालको इन्टरनेट पहुँच विस्तार भए इन्टरनेट लागत पनि सस्तो हुने दावी गरिएको छ । प्राधिकरणले इन्टरनेट सेवा भरपर्दो र सस्तो हुने गरी यो परियोजना कार्यान्वयनमा लैजाने सोच बनाएको खनाल बताउँछन् ।
यस्तै इन्टरनेटमा अन्य देशका सेवा प्रदायकको भर पर्नुपर्ने बाध्यता हटाउन पनि नेपालले आफ्नै केबल समुद्रसम्म पु¥याउन चाहेको हो । यसो भएमा विश्वस्तरीय इन्टरनेट सस्तोमा नै ग्राहकलाई उपलब्ध गराउन सकिने अपेक्षा सरकारको छ ।
हाल नेपालले भारतको टाटा, एयरटेल लगायतका सेवा प्रदायकबाट इन्टरनेट ब्यान्डविथ लिइरहेको छ । यदि समुद्रसम्म नेपालले आफ्नो फाइबर विस्तार गर्न सके अन्य अन्तर्राष्ट्रिय कम्पनीबाट पनि इन्टरनेट खरिदको बाटो खुल्नेछ ।
तर, यसका लागि छिमेकी मुलुक भारतको सहयोग भने आवश्यक पर्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) ले भूपरिवेष्ठित देशलाई समुद्रसम्म इन्टरनेट पहुँच बिस्तार गर्न सहयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।