ट्विटरले लिगेसी भेरिफाइड एकाउन्टबाट हटायो ब्लू टिक

न्युजलय ८ बैशाख २०८०, शुक्रबार ०१:२९ मा प्रकाशित

काठमाडौं । ट्विटरले लिगेसी भेरिफाइड एकाउन्ट अर्थात अनपेड एकाउन्टबाट बिहिबार मध्यरातिदेखि ब्लू टिक हटाइदिएको छ । अब कुनै पनि ट्विटर प्रयोगकर्ताले ब्लू टिक हासिल गर्नका लागि माइक्रो ब्लगिङ साइटलाई मासिक रुपमा शूल्क तिर्नु पर्नेछ । कम्पनिमा मालिक एलन मस्कले यो कुराको घोषणा करिव एक हप्ता अघि नै गरेका थिए ।

मस्कले २० अप्रिलपछि ती एकाउन्ट्सहरुबाट ब्लू टिक हटाउने घोषणा गरेका थिए, जसले शूल्क तिरेका छैनन् अर्थात पेड सब्सक्रिप्शन लिएका छैनन् ।

लिगेसी भेरिफाइड एकाउन्टबाट ब्लू टिक हटाउने घोषणा मस्कले अप्रिल १२ मै गरेका थिए । उनले २० अप्रिलदखि लिगेसी ब्लू टिक मार्क भेरिफाइड एकाउन्टबाट हट्ने घोषणा गरेका थिए । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने बताएका थिए ।

यसको प्रभाव नेपाली ट्विटर प्रयोगकर्ताहरुलाई समेत परेको छ । नेपालका पत्रकार, लेखक, नेता, समाजसेवी, कलाकार आदिले लिगेसी ब्लू टिक मार्क पाएका थिए । अहिले त्यो हटेको छ ।

ट्विटरले यसअघि नेता, अभिनेता, पत्रकारसहित चर्चित व्यक्तित्वहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै शूल्क लाग्दैन थियो, तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तनहरु गरिरहेको छ ।

ट्विटरले प्रारम्भमा अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया तथा न्यूजील्याण्डमा पेड ब्लू टिक सेवा लागू गरेको थियो । त्यसपछि यो नेपालमा पनि लागू भएको थियो । जसअनुसार जसले यो सेवाका लागि शूल्य तिर्नेछ, उसको एकाउन्टमात्र ब्लू टिक पाउने छ ।