डन तह लगाउने, भ्रष्टाचारी नँग्याउने र आफू नखाई अरुलाई दान दिने नेता चाहिएको छ
न्युजलय ८ असार २०७९, बुधबार १२:३६ मा
प्रकाशित
प्रिय भाइ रवि ,
तिमीलाई शुभकामना । रवि टेलिभिजनमा पहिलो पटक हास्य शृँखला मार्फत तिमी आएका थियौ । पछि तिमीले नेपाल टेलिभिजनको निमित 'क्ल्याप बोर्ड' शुरु गरेपछि मलाई भेट्न आयौ र भन्यौ, "दाइ एउटा फरक किसिमको कार्यक्रम गर्न चाहन्छु र पहिलो अन्तर्वार्ता दाइको गर्छु ।"
यो अन्तर्वार्ता विनोद मानन्धरको घरमा भएको हो र निकै चर्चित भयो ।
म चलचित्र छोडेर पोखरा गएँ । एकदिन रवि पोखरा आयो र मलाई भेटेर एउटा नयाँ कुरा सुनायो, "दाइ, 'यहाँको चलन' भन्ने एउटा टीभी शो गर्दैछु दाइले मलाई सहयोग गर्नु पर्यो ।"
मैले म लगायत पोखराका एघार जनाको अन्तर्वार्ता गर्न तिमीलाई सघाएँ । तिमी खुशी भएर फक्र्यौँ ।
कार्यक्रम पनि सफल भयो । तर खोइ असुन्तुष्टिले हो तिमी सारा कुरा छोडेर एकदिन अमेरिका गयौ ।
तिमी अमेरिका जाने दिन तिम्रो दाइ हरिशरण लामिछाने मसितै यात्रामा थियो, नारायणघाटबाट पोखरा सम्म । र, उनैले मलाई भनेका थिए, दाइ भैया पनि अमेरिका जाने भएछ ।
त्यतिवेला तिमीलाई के चित्त बुझेन तिमी अमेरिका गयौ ।
आज तिमीले देश फर्केर आएर पनि अझै कति चित्त बुझेको छैन, त्यसैले चलचित्र पत्रकारिता सबै छोडेर राजनीतिमा गयौ ।
राजनीतिमा हामी जानु हुन्छ कि हुँदैन ?
प्रश्न यो होइन ।
राजनीतिमा किन फरक फरक पृष्ठभूमिका मान्छे आउन थाले त ? हामीले चुनेका, छानेका नेताले पार्टीको वाहेक देशको सेवा गरेनन् । नेताका नाममा हामीले पाल्तु कुकूर मात्र भित्र्यायौं देशमा ।
विद्धान लेखक ब्रेख्तले आफ्नो नाटक गैलिलियो मा भनेका छन्, 'जुन समाजलाई नेतृत्व गर्न शूरवीरको जरुरत पर्छ त्यो समाज निरर्थक हो ।'
अहिले हामी त्यस्तै नेता खोज्न थाल्यौँ, डनलाई तह लगाउन सक्ने , भ्रष्टाचारीलाई नँग्याउन सक्ने, आफू नखाई अरुलाई दान दिन सक्ने ।
हामीलाई नयाँ नेता चाहिएको हैन, भएका नेता नालायक भएकोले विकल्पमा जसले पनि नेता हुन सक्ने सपना देख्न थालेका हुन् । यी कमसल नेता भन्दा पाँच प्रतिशत मात्र राम्रा नेता आए पनि हामी खुशी हुने भयौँ ।
त्यो गुण हामी कसैसित पनि हुन सक्छ, कलाकार, पत्रकार, गायक, वा खेलाडी कोहीमा पनि हुनसक्छ । जोकरले पनि आफूलाई नेता वा प्रधानमन्त्री बनेको देख्न सक्छ यस्तो कुत्सित समाजमा । यस्तो इतिहास अरु देशमा पनि भएको छ कुनै वेलाको चेकोस्लाभाकियामा नाटककार भाल्भाक हावेल उच्चकोटिका नेता बने । युक्रेनमा एउटा हास्य कलाकारले राष्ट्रपति हुन पाए ।
हामीले पनि हरेक किसिमका र हरेक तप्कामा मान्छेमा नेताको गुण खोज्न थाल्यौँ ।
नेताहरु अभिनेता जस्तो नाटक गर्न थाले । जोकर र तान्त्रिक हुन थाले ।
अब जो नेता होइन उसले नेता बन्ने दिन आयो । सबैलाई स्वागत गरौँ ।
अन्तमा तिमी वा रवीन्द्र मिश्र दुवै मेरा प्रिय हौ । रवीन्द्रलाई पनि नाटकमा ल्याउने अनि पत्रकारितामा दौडाउने श्रेय उनले मलाई नै दिएका छन् ।
रवीन्द्र पनि नेपाल फर्केर आएपछि उसले एकैपटक तीन चार ओटा काम गर्यो, सिनेमा, अभिनय र पत्रकारिता सबै कुरा छोडेर ऊ अचानक राजनीतिमा लाग्यो ।
खोई, के चित्त बुझेन उसले राजनीति ठीक सित बुझ्न सकेन, ऊ फर्कियो ।
तिमी चैँ नफर्किनु भाइ, मेरो फेरि पनि शुभकामना छ ।
शुभेच्छासहित,
तिम्रो प्रकाशदाइ ।
(चलचित्रकर्मी प्रकाश सायमीले पुर्वपत्रकार रवि लामिछानेलाई उनको नयाँ पार्टी घोषणा कार्यक्रमको सम्बन्धमा दिएको बधाईसहितको सुझाव ।)