टिनटिन टिन्न्न.....
मोबाइलको घण्टी बज्छ, हस्याङ्फस्याङ गर्दै म कुद्दै आएर फोन उठाउँछु ।
उताबाट आवाज आउँछ, ‘हेल्लो ! के गर्दैछौँ माया ? खै त आज भेट्ने भन्या हैन ? आउँदैनौँ ?’ एक सासमा उसले यति भनिसक्छ ।
‘खै यार कसरी आउँनु आउने त भने तर कस्तो डर लागिराछ,’ अगाडि आएको कपाल पन्छ्याउँदै बोल्दै छु म । मनमा अनेकन कुराहरु खेलिरहेका छन् ।
आज भ्यालेन्टाइन डे, अर्थात प्रेम दिवस । माया गर्नेहरुको विशेष दिन । हामीले पनि मनाउने प्लान गरेका थियौँ । त्यसैले उसले मलाई भेट्न बोलाउँदै थियो ।
तर कसैले देख्यो भने के भन्ने हो भन्ने डरले मलाई सताउन थाल्यो । मैले त्यही कुरा उसलाई भनेँ । तर उसले कर गर्यो । हामीले तालतलैया घुम्न जाने प्लान गरेर फोन राख्यौँ ।
घरमा आमालाई साथीसँग भेट्ने प्लान छ भनेर ढाँटेर घरबाट निस्कीएँ ।
घरबाट त निस्कीएँ, तर मनमा अनेकन कुराहरु खेलिरहे । बाटोमा हिडिरहँदा पनि सबैले मलाई नै हेरेर ‘हेर यो केटि आज भ्यालेन्टाइन डेको दिन यति राम्री भएर हिँडिछ पक्कै कुनै केटा भेट्न हिँडेकी हुँदि हो’ भन्दै होलान् सोचेर डराइडराइ हिँडिरहे ।
हुन पनि सानैदेखि सुन्दै आएको थिएँ, भ्यालेन्टाइन डेको दिन कुनै केटासँग भेट्न हुँदैन, कुनै केटाले भेट्न बोलाए पनि भेट्न हुँदैन, यदि भेटिहाले त्यो केटाले प्रेम प्रस्ताव राख्छ र पछि लाग्छ भनेर । केटाले प्रेम प्रस्ताव राखिहाले समाजले नराम्रो सोच्छ इज्जत जान्छ सुनेको थिएँ ।
म झुम्का चोकमा बस पर्खेर बसिरहेको थिएँ । गाउँकै एक जना आन्टी पनि इटहरी जान लागेको भन्दै मेरै छेउमा आउनुभयो र ‘इटहरी जान लागेकी ?’ भनेर सोध्नुभयो । के भन्ने भनेर म डराएँ । डराउँदै ‘हो’ भनेँ ।
धन्न । आन्टीले किन जान लागेकी ? भनेर प्रश्न गर्नु भएन ।
लामो सास फेरेर अरु नै कुरा झिकेँ । कुरा गर्दा गर्दै बस आयो । हामी बस चढेर इटहरी पुग्यौँ । ऊ अघि नै बस स्टेण्डमा पुगिसकेको रहेछ । म पुग्नासाथ उसले मलाई अँगालो हालेर ह्याप्पी भ्यालेन्टाइन डे डियर भन्यो । म डराएँ खै छाड, यसरी रोडरोडमा के गरेको कसैले देख्यो भने ... यति भनेर मैले उसलाई धकेलेर पर पुर्याईदिएँ ।
ऊ रिसायो र भन्यो, ‘के भयो त भ्यालेन्टाइन डेको दिन यति नि गर्न नपाउनु ? देखुन् न त मान्छेले के भो त ?’ भन्दै जङ्गियो । मलाई नराम्रो लाग्यो, तर केही भनिनँ ।
तालतलैया पुग्नको लागि हामीले सफारी चढ्यौं ।
रमाइला गफ गर्दै तालतलैया पुग्यौं । त्यहाँ पुगिरहँदा र बसिरहँदा पनि मलाई कसैले देख्ला की भन्ने डर भइरह्यो ।
३/४ घण्टा हामी त्यहाँ बस्यौ । उसले मलाई गिफ्ट ल्याइदिएको रहेछ । मैले हतार हतार र्याप गरेको गिफ्ट निकालेर हेरिहालेँ । आहा, कति राम्रो जामा रहेछ । म दङ्ग परेँ । र उसलाई गालामा म्वाई खाइदिएँ । ऊ मख्ख पर्यो । म लजाएँ ।
मैले उसको लागि मनभरीको माया बाहेक केही लगेको थिइनँ । किनभने म विद्यार्थी मात्र थिएँ । पैसा हुँदैन थियो । एकछिन बसेर हामी निस्कीयौँ र त्यही नजिकैको होटलमा मःम खायौँ । इटहरीसम्म सँगै आयौ र छुटियौँ । ऊ आफ्नो घर दमकतिर लाग्यो ।
म घर आइपुग्दा झमक्क साँझ परेको थियो । घरमा त्यो लुगा देख्नु भयो भने के भन्ने होला भनेर अब मलाई फसाद पर्यो । सरासर आफ्नो कोठामा गएर लुकाएँ । घरमा दिदी आएकी रहीछ । उसले मलाई आँखा ठूला पारेर कहाँ गएर आएकी त ? भन्दै सोधी । म डराएँ । मैले डराउँदै साथीसँग घुम्न गएको भनेँ ।
तर उसले ‘खै साथीसँग गइस् की कुनचाहिँ केटासँग तालतलैया गइस ...’ यति सुन्ने बित्तिकै म झस्किएँ । मनपरी नबोल है, भन्दै उल्टै थर्काएँ ।
त्यतिबेला नै आमा आउनु भयो । ‘ए..बल्ल सवारी भयो महारानीको’ भन्नुभयो । कहिले यसरी नबोल्ने मेरी आमा यसरी जङ्गिएको देखेर म धेरै झस्किएँ । आँखा भरी आँशु भयो । अनि भन्न थाल्नु भयो, ‘कुन चाँही केटासँग टाँसिएर घुम्दै थिइस् रे त, बिहान मलाई चाहिँ केटी साथीहरुसँग जान्छु भनेर गएकी थिइस् त । त्यो पल्लो घरकी रमाले देखेकी रे मलाई सुनाउँदै थिई ।’
ओहो, अब त झन् मेरो डरको सिमा नै रहेन । हामीलाई हाम्रै गाउँको एकजना भाउजूले देख्नु भएको रहेछ । उफ् ... अब के भन्ने ... म चुपचाप रहेँ ।
आमाले मलाई त्यो केटा को हो ? कस्तो छ ? भनेर सोध्न थाल्नु भयो । मैले पनि सबै साँचो भनिदिएँ । ऊ दमकको हो मलाई धेरै माया गर्छ रे । फेसबुकबाट चिनेको, बैंकमा काम गर्छ । म भन्दा ७ वर्ष जेठो छ । आमा नाम थर सोध्नुभयो । ऊ नेवार थियो ।
आमा झन रिसाउन थाल्नुभयो । मलाई गालि गर्न थाल्नुभयो । त्यो जात नमिलेको मान्छेसँग तेरो विवाह हुँदैन, समाज, आफन्तले के भन्छन् ? आजै देखि छोडिदे तेरो बाबाले थाहा पाउनु भयो भने के हुन्छ ? तैले गरेर मलाई पनि गाली खुवाउँछेस् । आमा पनि रुन थाल्नुभयो । ‘यसले समाजमा मुख देखाएर हिँड्न नदिने भई ।’
म धेरै रोएँ त्यो रात । उसले मेसेज गरेको थियो, ‘सानु घर पुग्यौं ? म त पुगेँ है । घर पुगेर पनि किन मेसेज नगरेकी ? मसँग रिसाकी ? के भयो भनन प्लिज ।’
ओहो ननस्टप मेसेज आइरहेको थियो । मैले मेसेज रिप्लाई गरिनँ । ऊ निकै इमान्दार थियो । चिनजान भएको दुई वर्ष भइसकेको थियो । तर, हाम्रो जम्मा दुई पटक भेट भएको थियो ।
रातभर मैले धेरै सोचेँ अनि बाबाआमाको विरुद्ध नजाने निर्णय गरेँ । र, अन्तिममा राति १ बजेको हुँदो हो । मैले उसलाई म्यासेज गरेँ, ‘माया अबदेखि हामी नभेटौ है । हाम्रो जात मिल्दैन रे । आज हामीलाई पल्लो घरको भाउजूले देख्नुभएछ । आमालाई सुनाइदिनु भएछ । आमाले साह्रै मन दुखाउनु भयो । मैले तपाईको बारेमा सबै भनिदिएँ । मलाई कत्ति गालि पनि गर्नुभयो । तपाईँ र मेरो प्रेम सम्बन्ध नस्वीकार्ने रे । हामी टाढै भएको ठिक होला । मलाई माफ गर्दिनुस् है । मैले मेरी आमालाई सम्झाउन सकिनँ । म हजुरलाई धेरै माया गर्छु । सधै गरिरहेने छु । अब कसैसँग नि म माया लगाउन सक्दिनँ । त्यसैले बाबा आमाले खोजेको केटासँग विवाह गरेर जान्छु । तपाईँ पनि राम्री केटि खोजेर विवाह गर्नुुस् र मलाई फेसबुकमा ब्लक गरिदिनुस् । नभए मलाई धेरै गाह्रो हुनेछ ।’
यति लेखेर मोबाइल पर हुत्याएँ अनि सिरक मुखमा खाँदेर डाँको छाडेर रोएँ । रोएको आवाज पल्लो कोठासम्म नपुगोस् भनेर मुखमा सक्दो सिरक खाँदेर धेरैबेर रोएँ ।
मैले उसको नम्बर पनि ब्लक गरिदिएँ । नयाँ नयाँ नम्बरहरुबाट दुई महिनासम्म फोन आयो । मैले कुनै पनि फोन उठाइनँ । पछि बिचरा थाकेछ, फोन गर्नै छाड्यो ।
केही दिनअघि सुनेँ, उसले यसपालि बिवाह गर्यो रे । त्यो वर्षको मेरो भ्यालेन्टाइन डे आज स्याड डे मा परिणत भयो । हुन पनि त्यो भ्यालेन्टाइन डे पछाडीका हरेक भ्यालेन्टाइन डेमा उसैलाई सम्झीन्छु । तिमी जहाँ छौँ सधै खुशी हुनु है माया । धेरै धेरै सम्झना । तिम्रो दाम्पत्य जीवन सुमधुर बनोस् ।